
झापा । झापाको मेचीनगर नगरपालिका–१० नागरडुब्बामा बुधबार (आज) बिहान आगलागी हुँदा करिब साढे दुई लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय लाल मोहम्मदको घरमा बिहान करिब ३ः५० बजेतिर भान्सा कोठामा रहेको फ्रिजको तार सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट भान्सामा रहेका फ्रिज, डाइनिङ टेबल, भाँडाकुँडा, चामल, एउटा बिजुलीको मिटर बक्स र अन्य विभिन्न सामानहरू जलेर नष्ट भएका छन् ।
आगलागीबाट करिब दुई लाख पचास हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको प्रहरीले जनाएको छ ।
आगलागी सुरु हुनासाथ स्थानीय बासिन्दा, प्रहरी र मेचीनगर नगरपालिकाको दमकल घटनास्थलमा पुगेका थिए । सबैको संयुक्त प्रयासमा बिहान ४ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























