
विराटनगर । कोशी प्रदेशका १४ जिल्लाहरूमा खेल प्रशिक्षकहरूको दरबन्दी र उपस्थितिमा ठुलो असन्तुलन देखिएको छ । खेल र खेलाडीको संख्या तथा आवश्यकताका आधारमा प्रशिक्षकहरू परिचालन हुनुपर्नेमा कतै अत्यधिक संख्यामा त कतै शून्यको अवस्था पाइएको हो ।
विशेष गरी प्रदेशमा बढी सम्भावना बोकेको मानिने कराँते खेलको प्रशिक्षक वितरणलाई हेर्दा यो असमानता प्रस्ट देखिन्छ । प्राप्त विवरण अनुसार, झापा जिल्लामा मात्रै १२ जना कराँते प्रशिक्षक कार्यरत रहँदा प्रदेशका अन्य ७ वटा जिल्लाहरू भने प्रशिक्षकविहीन छन्।
तथ्यांक अनुसार ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरमा कराँते प्रशिक्षकको संख्या शून्य छ । यस्तै, पाँचथर र धनकुटामा १–१ जना, इलाम र सुनसरीमा ४–४ जना, मोरङमा ३ जना र खोटाङमा २ जना प्रशिक्षक रहेका छन् ।
एउटै खेलमा एउटै जिल्लामा एकै पटक १२ जना प्रशिक्षक हुनु र अन्य पहाडी जिल्लाहरू रित्तै हुनुलाई खेलकर्मीहरूले स्वाभाविक मानेका छैनन् । सरकारी प्रशिक्षक नहुँदा ती जिल्लाहरूमा स्वयंसेवक प्रशिक्षकको भरमा खेलाडीहरूले अभ्यास गरिरहेका छन् ।
‘जिल्लामा प्रशिक्षक नहुँदा स्वयंसेवकहरूले धानेका छन्, तर आधिकारिक छनोट प्रक्रियामा सरकारी प्रशिक्षककै भूमिका रहने हुनाले खेलाडी र स्थानीय खेलकर्मीहरूले खुलेर विरोध गर्न सकेका छैनन्, भोजपुरका एक खेलकर्मीले बताए ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले बोर्डले छिट्टै प्रशिक्षक व्यवस्थापनको काम अघि बढाउने बताएका छन् । १० औँ राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड जस्ता ठुला प्रतियोगिताको तयारीका सन्दर्भमा सरोकारवालाहरूसँग छलफल भइरहेको र प्रशिक्षकको अभावबारे कुरा उठेको उनले स्वीकार गरे ।
सदस्यसचिव घोषले भने, ‘प्रशिक्षक धेरै भएका जिल्लाबाट आवश्यकता अनुसार अन्य जिल्लामा व्यवस्थापन गर्ने र आवश्यक परे थप नियुक्ति गर्ने विषयमा बोर्डले छिट्टै निर्णय लिनेछ। खेल क्षेत्र र खेलकर्मीहरूलाई न्याय हुने गरी हामी व्यवस्थापन गर्ने तयारीमा छौँ ।’
कोशी प्रदेशमा कराँते बाहेक अन्य धेरै खेलहरूमा पनि सरकारी प्रशिक्षकको संख्या अत्यन्तै न्यून छ । खेल पूर्वाधारको अभाव र आर्थिक स्रोतको कमी देखाउँदै लामो समयदेखि नयाँ प्रशिक्षकहरूको पदपूर्ति हुन सकेको छैन । हालका लागि प्रतियोगिताका समयमा बोर्डले अस्थायी प्रशिक्षक नियुक्त गरेर काम चलाउँदै आएको छ ।
राजधानी केन्द्रित र पहुँचका आधारमा प्रशिक्षकहरू सुगम जिल्लामा बस्न रुचाउने र दुर्गममा जान नखोज्ने प्रवृत्तिका कारण खेल क्षेत्रको तल्लो तहसम्म विकास हुन नसकेको गुनासो खेलाडीहरूको छ ।

























