
मेरो निबन्ध सङ्ग्रह ‘इन्द्रेणी सौन्दर्य’ को आत्मिक यात्रा र शब्द–अनुभूति वा भनौँ यसको रचनागर्भमाथि आज अलिकति चर्चाको मेलोमा छु। यी सन्दर्भहरू आत्मप्रशंसाले प्रेरित हुनुभन्दा नितान्त आफ्नै वैयक्तिक अनुभूतिको सिलसिला मात्रै हो। मेरो यो सङ्ग्रहमाथि आफ्नो अनुभूति र अरूका अभिव्यक्तिलाई पनि समेट्ने कोसिस गर्दैछौँ।
कुनै पनि सर्जकका निम्ति नयाँ कृतिको जन्म सन्तान प्राप्तिको खुसी जत्तिकै सुखद, आत्मीय र पूर्णताको अनुभूति हो। यही मङ्गलमय क्षणमा मेरो मन पनि एउटा नवीन सिर्जनात्मक उल्लासले भावविभोर बनेको छ। यही खुसीलाई साभार गर्दै शब्द र अक्षरहरूको मार्ग भएर आफ्ना पाठकहरूसामु मेरो नयाँ निबन्ध सँगालोसँगै अवतरित भएको छु।
‘निबन्ध’ मेरो लागि साहित्यिक विधा मात्र होइन, यो त जीवनलाई अनुभूत गर्ने, स्पर्श गर्ने र आत्मिक सम्प्रेषण गर्ने सबैभन्दा प्रिय माध्यम हो। जीवनका अनेकौँ घुम्तीहरू, समयका पदचाप, सम्बन्धका अनगन्ती रङ, प्रकृतिको मौन भाषा र चेतनाका सूक्ष्म उज्यालाहरूलाई मैले निबन्धका हरफहरूमा उतार्ने कोसिस गरेको छु। मेरो नवीनतम् कृति ‘इन्द्रेणी सौन्दर्य’ त्यही निरन्तर आत्मिक यात्राको एउटा जीवन्त दस्ताबेज हो। यहाँ अनुभूतिहरू ‘शब्द’ बनेका छन् र ती शब्दहरूले पुनः जीवनलाई नै आत्मीयताका साथ ‘स्पर्श’ गर्छन्।
‘शारदा’ मासिकका सम्पादक तथा बहुविधाका सक्रिय साहित्यकार विमल भौकाजीले गत साता हिमालय टाइम्समा लेखेको समीक्षात्मक आलेखको अलिकति उल्लेख गर्नु पनि यहाँ सान्दर्भिक लाग्छ। भौकाजीले लेखेको एउटा अनुच्छेद–
ज्ञानेन्द्र विवशको साहित्य सिर्जना गरिने क्रममा त्यसभित्रको अन्तर्यमा पुग्ने हो भने स्पष्ट देखिन्छ कि उनको लेखाइमा अनुभूतिजन्य भावहरूले धेरैभन्दा धेरै भूमिका खेलेको हुन्छ। यस्तो अवस्थालाई, प्रायः यात्रा गर्ने क्रममा जहाँ–जहाँ पुग्छन् तत् तत् ठाउँको दृश्यभित्र पसेर हुबहु आफ्ना लेखनमा उतार्छन् र यसरी उतार्छन् जसले पाठकलाई तिनै ठाउँमा सर्लक्क उचालेर पुर्याउँछ। अर्को शब्दमा भन्नुपर्दा, नियात्रा–लेखनमा उनको कलम बडो लोभलाग्दो छ। त्यसभन्दा अघि बढेर, ज्ञानेन्द्रको लेखाइ साहित्यको अर्को विधा– निबन्धमा झन् बढी प्रखर भएर आएको पाइन्छ। यसको पुष्टि उनको पछिल्लो कृति ‘इन्द्रेणी सौन्दर्य’ भित्र समाविष्ट हरेक निबन्धहरूले गर्छन्।
बहुविधाका सक्रिय साहित्यकार तथा प्राज्ञिक विमर्शका अर्का सम्पादक बद्रीप्रसाद ढकालले लेखेको ‘इन्द्रेणी सौन्दर्यका रङ्गीन अनुभूति’ शीर्षकको विचारमध्ये यी पङ्क्ति यहाँ साभार गर्छु– ‘इन्द्रेणी सौन्दर्य’ पाठक र लेखकबीचको त्यही संवेदनशील संवाद हो, अनुभूतिको सेतु हो।
अझ भन्ने हो भने लेखकसँगै पाठकको पदचाप पनि हो। यहाँ लेखकले भोगेका, देखेका, हेरेका दृश्य र शब्दहरूसँग मानव, जीवजन्तु र प्रकृतिका अनुभूति समेटिएका छन्। यस सङ्ग्रहका निबन्धहरूले पाठकलाई एकछिन रोकिएर आफ्नै जीवनतिर फर्केर हेर्न, सम्झनाका कुनै डोबमा डुबुल्की मार्न या चुपचाप रमाउन र आफैँसँग अन्तरसंवाद गर्न प्रेरित गर्दछ।”
यसैबीच कवयित्री तथा समीक्षक शशी भट्टराई श्रेष्ठका यी अभिव्यक्ति यहाँ उल्लेख गर्नु पनि समीचीन लाग्छ। उनले लेखेकी छन्– “ ‘इन्द्रेणी सौन्दर्य’ आधुनिक नेपाली निबन्धमा एक इमानदार र संवेदनशील योगदान हो। यसले वैयक्तिक अनुभूति र समाजबीचको संवादलाई कलात्मक रूपमा पुर्याउने इच्छाशक्ति देखाउँछ।
भाषा सरल र प्रभावकारी छ भने भावनात्मक इमानदारिता यसको प्रमुख शक्तिशाली पक्ष बनेको छ। संरचनागत र विश्लेषणात्मक गहिराइमा सुधार गरेर यो सङ्ग्रह अझ प्रभावकारी बन्न सक्ने सम्भावना छ। समग्रमा, निबन्धकार ज्ञानेन्द्र विवशले आफ्ना अनुभवहरूलाई अक्षरमा उभ्याउने सफल प्रयत्न गरेका छन्।”
मलाई लाग्छ– जीवन–दर्शनको दर्पण र साना अनुभूतिका आयामहरू नै मेरो निबन्धको सोपान हुन्। ‘इन्द्रेणी सौन्दर्य’ को सौन्दर्य आफैँमा जीवन–दर्शनको एउटा ‘दर्पण’ हो। यस सङ्ग्रहमा समेटिएका ५७ वटा मौलिक निबन्धहरू कुनै निष्कर्ष थोपर्ने उद्देश्यले होइन, पाठकसँगै सोच्ने, सम्झिने र महसुस गर्ने मेरा आतुर चाहनाबाट जन्मिएका हुन्।
यहाँ ठूला र भारी दर्शनभन्दा जीवनका साना–साना क्षणहरूलाई मैले प्राथमिकता दिएको छु। किनकि जिन्दगी ठूला घोषणाले भन्दा पनि दैनिक जीवनमा सहजै भेटिने साना र साधारण क्षणहरूले बनेको हुन्छ भन्ने मेरो निष्कर्ष छ। ती साधारणताभित्र लुकेका असाधारण अनुभूतिहरू खोज्नु नै मेरो मुख्य ध्येय हो।
कतै स्मृतिको बिहान, कतै मौनताको सौन्दर्य, कतै शब्दहरूको गोधूलि त कतै जीवनको रहस्यमय चाल, यी निबन्धहरू लेखिएका मात्र होइनन्, साँच्चिकै बाँचिएका हुन्। यहाँ पीडा, हार, बिछोड र मृत्युलाई पनि सौन्दर्यकै अर्को रूपमा स्वीकार गरिएको छ भन्ने मेरो दृढ विश्वास छ।
यसैगरी निबन्धमा विविधता, संवेदना र विचारको मन्थन पनि गरिएको छ। यो सङ्ग्रह कुनै एउटा घेरामा सीमित छैन। यसमा ‘बिर्सिन नसकिने मान्छे’ छन्, ‘बिर्सेर सम्झेका यादहरू’ छन्, ‘टनकपुरमा दुखेको मन’ छ र ‘एउटा यस्तो कालो दिन’ पनि छ। रातको चकमन्न शून्यता र दिनको कोलाहलजस्तै अनुभूतिका विविध रङहरू यहाँ पोखिएका छन्।
‘हतारबिनाका फुर्सद’ र ‘फुर्सदको दिन’ जस्ता निबन्धहरूले आजको तीव्र भागदौडपूर्ण जीवनमा पाठकलाई एकछिन टक्क रोकिन, सुस्ताउन र आफ्नै भित्री आफूतिर फर्केर हेर्न प्रेरित गर्छन्। जिन्दगीलाई तन्तनी पिउन मन लाग्ने उल्लासदेखि मृत्यु–यात्राको साक्षीसम्म भएर मैले जीवनलाई यसको सम्पूर्णतामा अङ्गाल्ने प्रयास गरेको छु।
मैले मेरा निबन्धहरूमा अग्रजहरूको शुभाशीर्वाद र आवरणको आभालाई कृतज्ञताका शब्द–सुमनले व्यक्त गरेको छु। यो कृतिलाई अझ अर्थपूर्ण र पूर्ण बनाउन नेपाली निबन्ध साहित्यका अग्रणी व्यक्तित्व तथा वरिष्ठ समालोचक प्रा.डा. माधवप्रसाद पोखरेलको सारपूर्ण शुभेच्छा प्राप्त भएको छ। उहाँको सूक्ष्म विश्लेषण मेरा लागि अग्रज सर्जकको अमूल्य शुभाशीर्वाद बनेको छ।
त्यसैगरी वरिष्ठ कलाकार विजय थापाको रङ र क्यानभासले निबन्धको समष्टिगत भावलाई कलात्मक आवरणमा उतारिदिएको छ। आवरणमा अङ्कित इन्द्रेणी रङ, सुनौलो बिहानीको आभा र आशामय जीवनको ढोकाले मेरो कृतिको भावनालाई दुरुस्तै प्रतिविम्बित गरेको छ भन्ने मेरो धारणा छ।
‘इन्द्रेणी सौन्दर्य’ लाई पुस्तकाकार स्वरूपमा जीवनदान प्रदान गरिदिने ‘सुन्दर स्वदेश प्रकाशन’ गृह र यसका मुख्य व्यक्ति ऋषिराम पाण्डेप्रति आभार प्रकट गर्छु। त्यस्तै पाठकीय संवाद र अपेक्षा पनि यसमा आवश्यक हुन्छ। ‘इन्द्रेणी सौन्दर्य’ पाठक र लेखकबीचको एउटा संवेदनशील र प्रेमिल संवाद हो।
मेरो लेखक–मन पाठकसँगै हिँड्ने, सँगै बस्ने र सँगै जिन्दगीका कुरा गर्ने शैलीमा रमाउँछ। निबन्ध भनेको ठूला कुरा सोच्नु र लेख्नु मात्र होइन, जीवनलाई संवेदनशील आँखाले हेर्न सक्नु रहेछ भन्ने भाव पाठकको मनमा उब्जन सक्यो भने मैले मेरो सिर्जनात्मक प्रयास सफल भएको मान्नेछु।
नेपाली निबन्ध साहित्यको श्रीवृद्धिमा अनुभूति, संवेदना र जीवनबोधको यो सानो प्रयास पाठकका लागि एक अर्थपूर्ण, आत्मीय र तृप्तदायक खुराक बन्नेछ भन्ने कुरामा म पूर्ण रूपमा विश्वस्त छु।
सबैमा हार्दिक धन्यवाद र आत्मीय नमन!

























