
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वघोषित राष्ट्रिय भेलाको तयारीबारे जानकारी गराउने भएको छ । इतर समूहले शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर आउँदो साउन २९ गतेका लागि तय भएको राष्ट्रिय भेलाको तयारीबारे जानकारी गराउन लागेको हो ।
आयोजक समिति, संयोजक चयन र अन्य समिति गठनको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको इतर समूहको प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माले बताए । उनका अनुसार दिउँसो १:३० बजेका लागि पत्रकार सम्मेलनको समय तय गरिएको छ । इतर समूहले बीपी स्मृति दिवसको अवसर पारेर राष्ट्रिय भेलाको घोषणा गरेको थियो ।
राष्ट्रिय भेलाका लागि १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरू खटाउने तयारी रहेको विश्वकर्माले बताए । भेलाको तयारीका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वय गर्न इतर समूहले नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरिसकेको छ ।
नेपाल विद्यार्थी संघ परिचालनका लागि कुन्दनराज काफ्ले, नेपाल तरुण दलका लागि जीतजंग बस्नेत र नेपाल महिला संघका लागि उषा राउत मिश्रलाई जिम्मेवारी दिइएको छ । त्यस्तै नेपाल दलित संघको जिम्मा यमुना विश्वकर्मा, नेपाल किसान संघको जिम्मा अध्यक्ष गणेश तिमिल्सिना र लोकतान्त्रिक आदिवासी जनजातिको जिम्मा जगत बरामले पाएका छन् ।
किरण पौडेललाई विदेश जनसम्पर्क समिति, मोहनबहादुर बस्नेतलाई काठमाडौँ जिल्ला सम्पर्क समिति तथा खेलकुद समन्वय र हरिशरण नेपालीलाई ट्रेड युनियन परिचालनको जिम्मेवारी तोकिएको छ । बुद्धिजीवी परिचालनको जिम्मा भने प्रचारप्रसार संयोजक विश्वकर्मा आफैँले लिएका छन् । आवश्यकताअनुसार थप समिति बनाएर अन्य भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पनि परिचालन गरिने उनले बताए ।

























