महिलाप्रधान चलचित्र ‘दुर्गा’ को घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार १०:५३

काठमाडौं । निर्देशक सम्राट बस्नेतले नयाँ चलचित्र ‘दुर्गा’ निर्माणको घोषणा गरेका छन् । यस सन्दर्भमा सार्वजनिक गरिएको थिम पोस्टरमा दुर्गा मन्दिर अगाडि एक युवती उभिएकी देखिन्छिन्। मन्दिरको ढोका अगाडि उनी एक्लै उभिएकी छन्।

मन्दिरको ढोका अगाडि त्रिशूल छ। चलचित्रको नाम ‘दुर्गा’ हुनु र त्रिशूलअगाडि बच्चा उभिएको देखिनुले यी दुईबीच सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ।

Advertisement

नामले यो चलचित्रको मुख्य पात्र दुर्गा रहेको प्रस्ट संकेत गरेको छ। चलचित्र महिलाप्रधान रहेको अनुमान गर्न सकिन्छ। मन्दिरमा रातो रङको अधिकता र युवतीले पनि रातो रङकै लुगा लगाएको देखाइनुले चलचित्रमा हत्या वा हिंसा प्रचुर मात्रामा रहेको बुझ्न सकिन्छ।

तर, चलचित्रको दुर्गा को हो भनेर जानकारी दिइएको छैन। कलाकार र प्राविधिक टिमबारे निर्माण टोली मौन छ। चाँडै नै चलचित्रका मुख्य कलाकारबारे जानकारी दिने र केही कलाकार अडिसनबाट छान्ने तयारी रहेको निर्देशक बस्नेतले बताए। उनका अनुसार चलचित्र मिथोलोजिकल हुनेछ।

कुस्मंडा र ग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा बन्ने चलचित्रको कथा निश्चल ढुंगानाले लेखेका छन्।

९० दिनको छायांकन सेड्युल रहेको चलचित्र काठमाडौँ, पोखरा र चितवनमा खिचिनेछ। असोजको पहिलो साताबाट चलचित्र छायांकनमा जानेछ।

पछिल्लो समय निर्देशक बस्नेतले निर्देशन गरेको चलचित्र ‘लाखे’ प्रदर्शनमा आएको थियो। यो चलचित्र केही दिन अगाडि मात्रै युट्युबमा सार्वजनिक गरिएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.