
काठमाडौं । नेपालको राष्ट्रियता, सार्वभौमिकता र दीर्घकालीन स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको अभिनेत्री मनीषा कोइरालाले बताएकी छन् । शाही युवा शक्ति, नेपालद्वारा काठमाडौंमा आयोजित ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान २०८३’ कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् ।
कोइरालाले संवैधानिक राजसंस्थाको अवधारणा आफूले जननायक बीपी कोइरालाको विचारबाटै ग्रहण गरेको स्पष्ट पारिन् । ‘मलाई संवैधानिक राजसंस्था चाहिन्छ भन्ने बोध बीपी बा (हजुरबुवा) बाटै भएको हो,’ उनले भनिन्, ‘सुरुमा उहाँका विचारहरू अलि फरक धारका देखिए पनि समय क्रममा मुलुकको भूगोल, परिस्थिति र भविष्यलाई मूल्यांकन गरेपछि उहाँ नेपालका लागि राजसंस्था अपरिहार्य छ भन्ने निष्कर्षमा पुग्नुभएको थियो ।’
बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिको स्मरण गर्दै मनीषाले राजा र प्रजातन्त्र एक अर्काका विरोधी नभई लोकतन्त्रको प्रतीकका रूपमा रहनुपर्ने बताइन् । उनले बीपीको चर्चित भनाइ ‘राजा र मेरो घाँटी एउटै दरबारको मियाँमा छ’ भन्ने सन्दर्भ उल्लेख गर्दै भनिन्, ‘त्यो कुरा हिजो जति सान्दर्भिक थियो, आज मुलुकको अवस्था हेर्दा झन् बढी महत्त्वपूर्ण भएको छ ।’
गणतन्त्र र बहुदलीय व्यवस्थाको अभ्यासपछि पनि नेपाली जनताले सोचेजस्तो समृद्धि र सबल राष्ट्रको सपना पूरा हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरिन् । मुलुकले आफ्नै मौलिक राष्ट्रिय तत्त्वहरूलाई उपेक्षा गरेर विदेशी अवधारणा पछ्याउँदा देश कमजोर बनेको उनको दाबी थियो ।
‘नेपालको एकीकरण गर्ने वंश र संस्थालाई कमजोर बनाउँदा अन्ततः राष्ट्रियता नै कमजोर हुन्छ,’ कोइरालाले थपिन्, ‘जसको पुर्खाले यो देश बनाए, उनीहरूलाई नै पाखा लगाउनु हाम्रो भूगोलका लागि निकै डरलाग्दो कुरा हो । देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउने हो भने राजसंस्थाको भूमिका आवश्यक छ।’
उक्त सामूहिक हस्ताक्षर कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो, जहाँ मनीषाले नेपालको मौलिक पहिचान र राष्ट्रिय सुरक्षाका लागि सबैलाई गम्भीर बन्न आग्रह गरिन् ।



















