देवानगन्जमा जनप्रतिनिधि र प्रहरीको पहलपछि भिड साम्य, घाइते महिलाको विराटनगरमा उपचार हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १५:५४

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–४ कप्तानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगा लागेपछि उत्पन्न तनाव जनप्रतिनिधि र प्रहरीको सक्रिय पहलपछि साम्य भएको छ ।

जनप्रतिनिधि र प्रहरीको पहलपछि भिड साम्य भएको हो । अहिले अवस्था सामान्य बनेको भए पनि सम्भावित अप्रिय घटना रोक्न ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । घाँस काट्न गएकी देवानगन्ज–४ की ३३ वर्षीया सरस्वतीकुमारी मेहता आइतबार बिहान करिब ११ः३० बजेतिर टाउकोमा ढुंगा लागेर घाइते भएकी थिइन् ।

Advertisement

स्थानीयका अनुसार गुलेलीबाट प्रहार गरिएको ढुंगा लाग्दा उनको टाउकोमा चोट लागेको हो । यद्यपि, ढुंगा कसले प्रहार गरेको भन्ने विषय अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइते मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

घटनापछि स्थानीय बासिन्दा महिलामाथि ढुंगा प्रहार गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्नुपर्ने माग गर्दै कप्तानगन्जमा भेला भएका थिए । करिब डेढ सय जनाको भिड जम्मा भएपछि फेरि तनाव बढ्ने संकेत देखिएको भन्दै सुरक्षा सतर्कता बढाइएको थियो ।

परिस्थिति बिग्रिन सक्ने अवस्था देखिएपछि गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहतासहितका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर प्रकाश पराजुली नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । जनप्रतिनिधि र प्रहरीले स्थानीयलाई सम्झाइबुझाइ गरेपछि भिड तितरबितर भएको र अवस्था सामान्य बनेको घटनास्थलमा रहेका नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले बताए । उनका अनुसार भिड बढ्दै गएर परिस्थिति भड्किने संकेत देखिएपछि त्यसलाई रोक्न जनप्रतिनिधि र सुरक्षाकर्मीले तत्काल घटनास्थलमा पुगेर प्रभावकारी पहल गरेका थिए ।

यद्यपि, सम्भावित तनावलाई ध्यानमा राख्दै घटनास्थल तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीले ढुंगा प्रहारमा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य जारी रहेको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

देवानगन्जमा दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि साउन १० गते राति सशस्त्र प्रहरीले नियन्त्रणका क्रममा गोली चलाएको थियो । उक्त घटनामा घाइते भएकामध्ये हालसम्म दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जना उपचाररत छन् ।

त्यस घटनापछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, आक्रमण र लुटपाटका घटना भएका थिए । शान्ति सुरक्षाको अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै प्रशासनले निषेधाज्ञा लागू गरिरहेको छ । अवस्था विस्तारै सामान्य बन्दै गइरहेका बेला आइतबारको नयाँ घटनाले पुनः सुरक्षा सतर्कता बढाउनुपर्ने अवस्था आएको गाउँपालिका अध्यक्ष मेहताले बताए ।

देवानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगाले लाग्यो, तनावको सम्भावनासँगै बढाइयो सुरक्षा सतर्कता

तपाइको प्रतिक्रिया
पुरानै लयमा फर्किदै सुनसरी, सडकदेखि बजारसम्म बढ्यो चहलपहल
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
कर्पोरेट क्रिकेट लिगको तेस्रो सिजन भदौ १८ देखि हुने
देवानगन्जमा जनप्रतिनिधि र प्रहरीको पहलपछि भिड साम्य, घाइते महिलाको विराटनगरमा उपचार हुँदै
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
नेपाल बारले सुरु गर्‍यो देवानगन्ज घटनाको स्थलगत अध्ययन
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
नीतिगत अस्थिरता : सेयर, कर्जा र आयातमा गिरावट आउने राष्ट्र बैंकको निष्कर्ष
अनुदान कटौती र भण्डारण अभावले संकटमा मोरङको जुट खेती
देवानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगाले लाग्यो, तनावको सम्भावनासँगै बढाइयो सुरक्षा सतर्कता
कोशीमा मुख्यमन्त्री कार्कीलाई फेर्ने कसरत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.