
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईँले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र नागरिकका आधारभूत अधिकार समेत कुण्ठित गरिएको दाबी गरे ।
उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश स्मरण गर्दै नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी भएको बताए । सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोप पनि उनले लगाए ।
प्रसाईँले आफूहरूको आन्दोलन कुनै धर्म वा समुदाय विशेषको विरुद्ध नभई सिङ्गो व्यवस्था परिवर्तनका लागि भएको प्रस्ट पारे । पूर्ववर्ती सरकार र सम्झौताहरूको प्रसङ्ग जोड्दै उनले किरात र बौद्ध धर्मसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्बहाली नै मुख्य एजेण्डा भएको दोहोर्याए ।
संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरू सम्बोधन नभए व्यवस्था नै ढाल्ने चेतावनी प्रसाईँले दिए । उनले देशको अस्तित्व जोगाउन र हिन्दु राष्ट्र पुनर्बहालीका लागि एकै ठाउँमा उभिन सम्पूर्ण बुद्धिजीवी, पत्रकार र नागरिकहरूलाई अपिल समेत गरेका छन् ।

























