
विराटनगर । विराटनगरका प्रतिष्ठित उद्योगी, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष प्रकाश मुन्दडाको निवासमा सोमबार बिहान प्रहरीले सञ्चालन गरेको ‘मेगा अपरेसन’ अन्ततः उपलब्धिविहीन बनेको छ ।
करिब साढे पाँच घण्टासम्म घरदेखि कार्यालयसम्म सघन खानतलासी गर्दा कुनै पनि सामग्री, नगद वा प्रमाण फेला नपरेपछि प्रहरी टोली रित्तो हात फर्किएको हो । प्रहरीले बिहान करिब ४ बजेदेखि विराटनगर महानगरपालिका–७ स्थित मुन्दडाको निवास र कार्यालय क्षेत्रमा ठुलो सुरक्षा घेरा बनाएर खानतलासी सुरु गरेको थियो ।
उद्योगी मुन्दडाको निवास र कार्यालयमा बिहान करिब ९:३0 बजेसम्म चलेको अपरेसनका क्रममा घर वरपर सर्वसाधारणको आवतजावत र सवारीसाधन सञ्चालनसमेत केही समयका लागि रोकिएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङ र गोल्छा मोडतर्फ जाने सडक पनि केही समय अवरुद्ध गरिएको थियो ।
अपरेसनमा जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । एक दर्जनभन्दा बढी प्रहरीका गाडी प्रयोग गरिएको उक्त अपरेसनको नेतृत्व मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गरेका थिए ।
टोलीमा डीएसपी मकेन्द्रकुमार मिश्र, डीएसपी सन्तोष श्रेष्ठ, वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी लोकेन्द्रसिंह गुरु, इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत अन्य इन्स्पेक्टरहरू समेत सहभागी थिए । प्रहरी स्रोतका अनुसार विशेष सूचनाका आधारमा मुन्दडाले अवैध रूपमा ठुलो परिमाणमा नगद संचित गरी राखेको आशंकामा खानतलासी गरिएको थियो ।
मुन्दडाको नाम विगत लामो समयदेखि अवैध हुण्डी कारोबारसँग जोडिँदै आएको चर्चा भए पनि उनीमाथि यसअघि औपचारिक अनुसन्धान भएको थिएन । यसपटकको अपरेसन पनि त्यही आशंकालाई आधार बनाएर सञ्चालन गरिएको प्रहरी स्रोतको भनाइ छ ।
उद्योग व्यापार क्षेत्रका केही व्यवसायीहरूले देवनरा ग्रुपले चाँदीको खरिद–बिक्रीमा ठुलो लगानी गर्दै आएको उल्लेख गर्दै चाँदी कारोबारसँग सम्बन्धित विषय पनि अनुसन्धानको दायरामा हुन सक्ने अनुमान गरेका थिए । स्रोतका अनुसार कुनै उद्योगी एवं व्यवसायीकै विशेष सूचनाका आधारमा मुन्दडाको घर र कार्यालयमा प्रहरीले छापा हानेको हो । तर, उपलब्धि शून्य भएको छ ।
साढे पाँच घण्टा लामो खानतलासी गरेर प्रहरी टोली फर्किएको र घरबाट कुनै नगद, कागजात वा अन्य सामग्री बरामद नभएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । ‘विशेष सूचनाका आधारमा छापा हानेका थियौँ। लामो समय लगाएर घरदेखि कार्यालयसम्म लगातार खानतलासी गरियो । तर, केही पनि फेला परेन । त्यसपछि टोली फर्कियो,’ एसपी कटवालले भने । उनका अनुसार कहिलेकाहीँ प्रहरीलाई प्राप्त हुने सूचना पूर्ण रूपमा सही नहुन पनि सक्छ । ‘यस पटक मुन्दडाको हकमा पनि त्यस्तै भयो,’ उनले बताए ।
यस घटनाले विराटनगरको उद्योग तथा व्यापार क्षेत्रमा व्यापक चर्चा र चासो उत्पन्न गरेको छ । प्रतिष्ठित उद्योगीको घरमा यति ठुलो संख्यामा प्रहरी परिचालन गरी ‘मेगा अपरेसन’ सञ्चालन गरिए पनि अन्ततः कुनै उपलब्धि हासिल हुन नसक्दा प्रहरीको सूचनाको विश्वसनीयता र अपरेसनको औचित्यमाथि समेत प्रश्न उठ्न थालेको छ ।
यसैबीच, मुन्दडा पछिल्लो समय आफू अप्ठेरोमा पर्न सक्ने आकलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग निकट बन्दै गएको चर्चा पनि उद्योगी व्यवसायी वृत्तमा छ । २)८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका उम्मेदवारलाई आर्थिक सहयोग गरेको चर्चा समेत भए पनि त्यसको कुनै आधिकारिक पुष्टि हुन सकेको छैन ।
तर, मुन्दडामाथि बारम्बार विभिन्न हिसाबले प्रश्न उठिरहेका छन् । सत्ता र शक्तिसँग निकट भइरहने, कर छली गर्ने, हुण्डी कारोबार चलाउने लगायतका अवैध धन्दामा उनको नाम मुछिने गरेको छ । यस विषयमा बुझ्न खोज्दा मुन्दडा भने सम्पर्कमा आउन चाहेनन् । बारम्बार गरेको फोन उठाएनन् ।

























