नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १४:२४
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन

काठमाडौं । न्यूनतम पारिश्रमिकको ग्यारेन्टी र नर्सिङ क्षेत्रको समग्र सुधारको माग गर्दै नर्सहरू सोमबार सडकमा उत्रिएका छन् । विभिन्न अस्पतालमा कार्यरत नर्सहरूले काठमाडौंको वीर अस्पताल अगाडि भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

पाँच दिनदेखि आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाटको समर्थन र उनले अघि सारेका १५ बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले यो प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नर्सिङ पेसामा रहेका विकृति अन्त्य गर्न र राज्यले तोकेको सेवा सुविधा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

Advertisement

अनशनरत रानाभाट र प्रदर्शनकारी नर्सहरूले नर्सिङ क्षेत्रको सुधारका लागि १५ बुँदे माग प्रस्तुत गरेका छन् । उनीहरूले पर्याप्त नर्सिङ दरबन्दी सिर्जना गरिनुपर्ने, सबै नर्सहरूका लागि न्यूनतम पारिश्रमिकको सुनिश्चितता हुनुपर्ने, नर्सिङ क्षेत्रमा रहेको ठेक्का तथा करार प्रणालीको अन्त्य गरी स्थायी नियुक्तिको व्यवस्था गर्नुपर्ने, नर्सिङ शिक्षाको गुणस्तर सुधार हुनुपर्ने र विद्यमान विभेदकारी कानुनी व्यवस्थाको अन्त्य गरिनुपर्ने, सरकारी तथा निजी स्वास्थ्य संस्थामा वैज्ञानिक बिरामी–नर्स अनुपातका आधारमा दरबन्दी कायम गरिनुपर्ने, नर्सिङ तथा मिडवाइफ्री सेवा ऐन यथाशीघ्र निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने लगायतका माग राखेर आन्दोलन थालेको हुन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘नर्सहरूको श्रम शोषण बन्द गर’, ‘बिरामी–नर्स अनुपात लागू गर’ र ‘नर्सिङ सुधारको रोडम्याप कार्यान्वयन गर’ जस्ता नाराहरू लगाएका थिए ।

सरकारी र निजी दुवै क्षेत्रमा कार्यरत नर्स तथा मिडवाइफहरूलाई सरकारले तोके बमोजिमको सेवा-सुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। पाँच दिनदेखि अनशनमा रहेकी रानाभाटको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.