कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार ०६:५५
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 

काठमाडौं । नेपालमा हाल मनसुनी वायुको सक्रिय प्रभावसँगै न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक सरेको छ । यसका कारण देशभर मनसुनी गतिविधि बढ्ने र केही प्रदेशमा ‘धेरै भारी’ वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार (आज) कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

आज राति देशभर साधरणतया बादल लाग्ने छ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारी वर्षाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.