
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक मंगलबार (आज) अपराह्न १ः०० बजे बस्दै छ । आजको बैठकमा सरकारका तर्फबाट प्रतिवेदन पेस गर्ने र नागरिकका आधारभूत समस्याका विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आ.व. २०८१/८२)’ पेस गर्ने कार्यक्रम छ ।
बैठकको मुख्य आकर्षण नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गर्ने ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ रहनेछ । उक्त प्रस्तावमा वास्तविक भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, खाद्य, स्वास्थ्य र शिक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ । साथै, वास्तविक सुकुम्वासीहरूलाई यथाशीघ्र लालपुर्जा वितरण गर्न र उनीहरूको स्थायी पुनः स्थापनाका लागि सरकारलाई दबाब दिने उद्देश्य प्रस्तावको छ । यस प्रस्तावलाई सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गर्ने छन् ।
प्रतिनिधिसभा बैठकअघि र साथै आज विभिन्न पाँच वटा संसदीय समितिका बैठकहरू पनि बस्दै छ । बैठकमा महत्त्वपूर्ण विधेयक र जनजीविकाका सवालमा छलफल हुनेछ ।

























