वर्षा र पहिरोले मुख्य राजमार्ग अवरुद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार ११:०८

काठमाडौं। केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार काठमाडौँ उपत्यका, कोशी र बागमती प्रदेशका धेरै ठाउँमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध बनेका छन्।

काठमाडौँ र ललितपुरलाई जोड्ने तथा बाहिरिने वैकल्पिक मार्गहरू पहिरोका कारण ठप्प भएका छन्। ललितपुरको बागमती गाउँपालिका-३ पाण्डुरमा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध बनेको छ। यस्तै काठमाडौँको नागार्जुन नगरपालिका-८ ठुलो खोलामा पहिरो जाँदा सितापाइला-धार्के सडक खण्ड पनि पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

Advertisement

कोशी प्रदेशको भोजपुर र इलाममा पनि सडक अवरुद्ध भएको छ। भोजपुर नगरपालिका-५ बोखिममा बाढी आएपछि मध्यपहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा छ। त्यहाँ वैकल्पिक बाटोको व्यवस्था गरिएको छ। यस्तै इलाम नगरपालिका-९ राजदुवालीमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार सो क्षेत्रमा पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ।

बागमती प्रदेशमा विपद्को जोखिमलाई ध्यानमा राख्दै केही राजमार्गमा समयसीमा तोकेर यातायात सञ्चालनमा रोक लगाइएको छ। बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थिति हेरेर सवारी सुचारु गरिने प्रहरीले जनाएको छ।

यसैगरी कान्तिलोकपथको हेटौँडा-ठिङ्गन-ललितपुर खण्डमा पनि बाढी र पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ चारकिलो र वडा नम्बर २ कोदारीमा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न र यात्रा गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.