
विराटनगर । कोसी प्रदेशका पहाडी तथा भित्री मधेसका जिल्लाहरूमा साना सिँचाइ आयोजनाको विस्तारसँगै कृषि क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । प्रदेशका ५९ स्थानीय तहमा एक हजार ४४० वटा साना सिँचाइ आयोजना निर्माण सम्पन्न भएसँगै २५ हजार ९३ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।
यी आयोजनाहरू कुल ५ अर्ब ३ करोड रुपैयाँको लागतमा सम्पन्न भएका हुन् । यसमा वैदेशिक सहयोग र आन्तरिक स्रोतको उदाहरणीय साझेदारी देखिएको छ । आयोजनामा स्विस सरकारले ३० प्रतिशत, संघीय र प्रदेश सरकारले २०–२० प्रतिशत, स्थानीय तहले २० प्रतिशत र उपभोक्ता स्वयंले १० प्रतिशत लगानी गरेका छन् । यस साझेदारीबाट ८ जिल्लाका ६१ हजार ४० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
सिँचाइ सुविधा पुगेपछि परम्परागत खेती प्रणालीमा समेत परिवर्तन आएको छ । कार्यक्रम व्यवस्थापन परामर्शदाताका टोली नेता गुणराज श्रेष्ठका अनुसार सिँचाइका कारण बर्खे धानको उत्पादकत्वमा ४४ प्रतिशत र वसन्ते मकैको उत्पादनमा ५९ प्रतिशतले वृद्धि भएको छ ।
पहिले सिँचाइ अभावमा वर्षमा एक बाली मात्र लगाउने किसानले अहिले एउटै जमिनमा पटक–पटक बाली लगाउन थालेका छन् । श्रेष्ठका अनुसार यसले बाली सघनतामा ३३ प्रतिशतले वृद्धि ल्याएको छ, जुन किसानको आयआर्जनका लागि ठुलो उपलब्धि हो ।
आयोजनाअन्तर्गत इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर र ओखलढुंगामा काम भएका छन् । जसमध्ये इलाम र पाँचथरका १४ स्थानीय तहमा मात्रै २ अर्ब २५ करोड रुपैयाँ खर्च गरी १० हजार १७२ हेक्टरमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।
निर्माण सम्पन्न भएका आयोजनामध्ये ९४ प्रतिशत पूर्ण रूपमा सञ्चालनमा छन् । बाँकी ६ प्रतिशत आयोजनामा भने बाढी, पहिरो र सडक विस्तारका कारण केही क्षति पुगेको छ । मर्मत र संरक्षणको जिम्मेवारी अब स्थानीय जल उपभोक्ता संस्थालाई सुम्पिएको छ ।
सिँचाइको यो विस्तारले कोसी प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन र ग्रामीण अर्थतन्त्र बलियो पार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।



















