
काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) ले आफ्नो राष्ट्रिय कार्यसमिति घोषणा गर्दै देशभर संगठन विस्तारको विशेष ‘रोडम्याप’ सार्वजनिक गरेको छ । पार्टीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत प्रारम्भिक राष्ट्रिय नेतृत्वलाई औपचारिक रूपमा अनुमोदन गरेको जानकारी दिएको हो ।
पार्टीको संस्थापक अभिजित दीपकेलाई राष्ट्रिय संयोजकको जिम्मेवारी दिइएको छ भने आशुतोष रांका र सौरव दासलाई सहसंयोजक नियुक्त गरिएको छ । सीजेपीले आफ्नो संगठनात्मक संरचनामा युवाहरूलाई प्राथमिकता दिँदै कार्यसमितिका सबै पदाधिकारी ३५ वर्षभन्दा कम उमेरका रहेको जनाएको छ ।
घोषित कार्यसमितिअनुसार अजिक्य शिन्दे राष्ट्रिय संगठन प्रमुख, दीपक बालियान संगठन सहप्रमुख, आफरिन नवाज राष्ट्रिय सचिव, विजय रेड्डी मल्लांगी सञ्चार प्रमुख, रत्ना सिंह कानुनी मामिला प्रमुख, वैष्णवी गौर अनुसन्धान तथा नीति प्रमुख, रोहन देशपाण्डे प्रविधि प्रमुख तथा योगेश इंगले वित्त प्रमुख नियुक्त भएका छन् ।
संगठनात्मक संरचनाअन्तर्गत पार्टीले चार वटा क्षेत्रीय प्रमुखसमेत घोषणा गरेको छ । उत्तर भारतको जिम्मेवारी दीपक बालियान, दक्षिण भारतको विजय रेड्डी मल्लांगी, पूर्वी तथा उत्तर–पूर्वी क्षेत्रको अंकित भारद्वाज र पश्चिम भारतको योगेश इंगलेलाई दिइएको छ ।
सीजेपीले आगामी ६ महिनाभित्र देशभर प्रादेशिक समन्वय समिति, लोकसभा क्षेत्र स्तरीय एकाइ तथा नगर स्तरीय समन्वय समिति गठन गर्ने योजना सार्वजनिक गरेको छ ।
पार्टीले सार्वजनिक गरेको सूचीबाहेक अन्य कुनै पनि व्यक्तिलाई पार्टीको पदाधिकारी नियुक्त नगरिएको स्पष्ट पार्दै आधिकारिक जानकारीमा मात्र विश्वास गर्न आग्रह गरेको छ ।

























