
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्कने समय परिवर्तन भएको छ। नेता मीन विश्वकर्माका अनुसार देउवा साउन २८ गते दिउँसो १२ बजे नेपाल फर्किने तय भएको छ।
यसअघि निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले उपचारको क्रममा विदेशमा रहेका देउवा साउन २६ गते राति फर्कने बताएका थिए। देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यहाँ स्वास्थ्य परीक्षण र उपचार सकिएपछि उनी २०८२ चैत ७ मा हङकङ पुगेका थिए।
नेपाल आएर देउवाले नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ। भेला आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाका अनुसार साउन २९ गतेदेखि काठमाडौँमा सुरु हुने उक्त भेलालाई देउवाले सम्बोधन गर्नेछन्।
यसैबिच, देउवा स्वदेश फर्किने तयारीमा रहँदा उनीविरुद्ध कुनै कानुनी मुद्दा वा पक्राउ पुर्जी रहे-नरहेको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देउवाविरुद्ध मुद्दा वा पक्राउ पुर्जी भए-नभएकोबारे रेकर्ड अध्ययन भइरहेको बताए।

























