
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जेनजी आन्दोलनका कारण देशको स्वाधीनता खतरामा परेको बताएका छन्। शनिबार आठ दलको अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले देशको स्वाधीनता जोगाउनकै लागि मोर्चा गठन गरिएको स्पष्ट पारे।
देशमा धेरै राजनीतिक परिवर्तन भए पनि उत्पीडित समुदायले न्याय पाउन नसकेको उल्लेख गर्दै अध्यक्ष यादवले ती समुदायलाई न्याय दिलाउन अग्रगामी मोर्चा अघि बढेको बताए। देशमा सर्वसत्तावाद हाबी भएको र यसले अधिनायकवाद जन्माउने खतरा औँल्याउँदै उनले जनताले प्राप्त गरेका उपलब्धिमाथि प्रहार भएको दाबी गरे। प्राप्त उपलब्धिको रक्षा र संविधानलाई समावेशी बनाउन मोर्चाले निरन्तर सङ्घर्ष गर्ने उनको भनाइ छ।
संविधान संशोधनको आवश्यकता औँल्याउँदै यादवले देशमा सुशासन कायम नभएको, भ्रष्टाचार नरोकिएको र आर्थिक अवस्था जर्जर बनेको टिप्पणी गरे। देशको अग्रगामी परिवर्तनका लागि जनता जागिसकेकाले तिनै जनताको बलमा मोर्चा गठन भएको भन्दै उनले यस अभियानलाई सरकारले सम्मान गर्नुपर्ने बताए।
आगामी दिनमा अन्य परिवर्तनकामी सङ्गठन र विभेदमा परेका समुदाय पनि मोर्चामा जोडिने उल्लेख गर्दै यादवले यसबाट कोही आतङ्कित हुनु नपर्ने स्पष्ट पारे। जनताको अधिकारका लागि गठित यो मोर्चाले माग पूरा नभए सङ्घर्ष जारी राख्ने चेतावनी दिँदै उनले सम्पूर्ण राजबन्दीहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे।

























