
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पूर्वसभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिकामा बस्न आग्रह गरेकी छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार बोल्दै नेतृ कोइरालाले पार्टीभित्रको असन्तुष्ट पक्षलाई पनि अहंकार छाडेर एकताबद्ध हुन आह्वान गरिन्।
‘इतर पक्षका साथीहरूलाई अनुरोध गर्छु- अब अहंकार छाडेर बैठकमा सहभागी हुनुस्। शेरबहादुर देउवाजी, तपाईं अभिभावकको भूमिका निर्वाह गर्नुस्। यदि तपाईंहरूमा राष्ट्रप्रतिको जिम्मेवारी छ भने त्याग गर्नुस्, एकता कायम गर्नुस्, पदका लागि मात्र नलडौँ,’ उनले भनिन्।
पार्टी बलियो हुँदै गएका बेला सधैँ षड्यन्त्र हुने गरेको पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको भनाइ स्मरण गर्दै उनले थपिन्, ‘कांग्रेस जब-जब बलियो र लोकप्रिय हुन्छ, यसविरुद्ध षड्यन्त्र हुन्छ भनेर उहाँले भन्नुहुन्थ्यो। अहिले ठ्याक्कै त्यस्तै परिस्थिति बनेको छ।’
सुरुमा सभापति गगन थापाले पार्टी कसरी चलाउलान् भनेर आफूलाई चिन्ता लागेको भए पनि अहिले उनले धेरै राम्रोसँग नेतृत्व सम्हालिरहेको कोइरालाले बताइन्। ‘नेपाली कांग्रेसमा गगन थापा सभापति भएपछि युवाहरूको आकर्षण निकै बढेको छ। सभापति सबैप्रति लचिलो र जिम्मेवार रूपमा प्रस्तुत हुनुभएको छ, यो एकदमै प्रशंसनीय छ,’उनले भनिन्।

























