मोरङमा पक्राउ परेका युवा–युवती : श्रीमान–श्रीमतीका रुपमा बसे, लागुऔषधको दलदलमा फसे

Share this
815shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १६:४२
दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार

विराटनगर । पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेका एक युवा र युवती पछिल्लो एक वर्षदेखि श्रीमान–श्रीमतीका रुपमा सँगै बस्दै आएका थिए ।

सामाजिक हिसाबले विवाह गरे पनि उनीहरुले कानुनी रुपमा विवाह दर्ता भने गरेका थिएनन् । तर, खराब संगत र लागुऔषध सेवनको बानीले उनीहरुको जीवनमा समस्या थपिँदै गयो । अन्ततः भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुवैलाई पक्राउ गर्यो ।

Advertisement

मोरङको रंगेलीमा पक्राउ परेका इलाम चुलाचुली गाउँपालिका–१ का २४ वर्षीय सम्योक वानेम फागो र उनकी प्रेमिका २१ वर्षीया भूमिका फागो भनिने भूमिका शेर्मा अहिले लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश गोकुलबहादुर निरौलाको इजलासले सोमबार दुवैलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अदालतको आदेशपछि दुवैलाई कारागार चलान गरिएको छ ।

प्रहरीका अनुसार असार ३१ गते दिउँसो करिब १ः१५ बजेतिर भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई रंगेली नगरपालिका–६ स्थित पुरानो भन्सार टोलमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाजाँच गरेको थियो ।

जाँचका क्रममा सम्योकले आफ्नो मलद्वारमा कालो प्लास्टिकको पोका लुकाएर ल्याएको अवस्थामा प्रहरीले फेला पार्यो । पोका निकालेर हेर्दा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) भेटियो । डिजिटल तराजुमा तौल गर्दा १५ ग्राम ४४ मिलिग्राम भएको प्रहरीले जनाएको छ ।

सम्योकसँगै रहेकी भूमिकालाई पनि चेकजाँच गर्दा उनले आफ्नो मलद्वारमा कालो प्लास्टिकको पोकाभित्र लुकाएर राखेको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेको थियो । डिजिटल तराजुमा तौल गर्दा ११ ग्राम ७ मिलिग्राम भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीले दुवैमाथि लागुऔषध मुद्दामा अनुसन्धान अघि बढायो । अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै दुवै जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्यो । थुनछेक बहसपछि दुवै जनालाई अदालतले सोमबार कारागार चलानको आदेश गरेको हो ।

अनुसन्धानबाट दुवैले करिब एक वर्षदेखि लागुऔषध सेवन गर्दै आएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार दुवैको विवाह दर्ता नभए पनि उनीहरु श्रीमान–श्रीमतीका रुपमा सँगै बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरु करिब पाँच वर्षअघिदेखि प्रेम सम्बन्धमा थिए । पछिल्लो एक वर्षदेखि भने श्रीमान–श्रीमतीकै रुपमा बस्दै आए पनि विवाद दर्ता भने भएको छैन । इलामको चुलाचुली घर भएका सम्योकले करिब एक वर्षदेखि भूमिकासहित पथरीशनिश्चरेस्थित ससुराली आसपासमा बस्दै आएको बताएका छन् । पथरीशनिश्चरेमा बस्न थालेपछि लागुऔषध सेवन गर्न थालेको बयान उनले दिएका छन् ।

गलत साथीभाइको संगतले आफू लागुऔषधको लतमा फसेको उनले बताएका छन् । पथरीशनिश्चरे आएपछि साथीहरुसँगको संगत बढ्दै जाँदा लागुऔषध सेवन गर्न थालेको बयान उनले अनुसन्धानका क्रममा दिएका छन् ।

भूमिकाले भने सुरुमा श्रीमानले नै लागुऔषध सेवन गर्ने गरेको बयान दिएकी छन् । उनका अनुसार खराब साथीसँगको संगतका कारण सम्योकले लागुऔषध सेवन गर्न थालेका थिए । पछि सम्योकसँगै बस्ने क्रममा आफूले पनि लागुऔषध सेवन गर्न सिकेको बयान उनले प्रहरीलाई दिएकी छन् ।

उनीहरुले भारतीय नागरिक योगेश भनिने व्यक्तिबाट लागुऔषध ल्याएर सेवन गर्ने गरेको समेत बयान दिएका छन् । असार ३० गते दुवै जना भारत गएको र सोही दिन भारतीय भूमिमै बसेको उनीहरुको भनाइ छ । भोलिपल्ट नेपाल फर्किने क्रममा लागुऔषध खरिद गरेर मलद्वारमा लुकाइछिपाइ ल्याउँदै गर्दा रंगेलीमा प्रहरीले फेला पारेर पक्राउ गरेको उनीहरुले बताएका छन् ।

प्रहरीका अनुसार उनीहरु लागुऔषध कारोबार गर्ने ठूलो गिरोहका सदस्यभन्दा पनि सेवनकर्ताका रुपमा देखिएका छन् । भारतबाट लागुऔषध खरिद गरी नेपाल ल्याएको र शरीरमा लुकाएर ओसारपसार गरेको विषयमा प्रहरीले अनुसन्धान गरेको थियो ।

पछिल्लो समय युवायुवती लागुऔषधको दलदलमा फस्ने क्रम चुनौतीका रुपमा देखिएको एसपी कटवालले बताए । इलाका प्रहरी कार्यालय रंगेलीले मात्रै अहिले १५ जनामाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा रहेका अधिकांश युवा उमेर समूहका छन् ।

‘१८–१९ वर्षदेखि माथिका युवाहरु लागुऔषधको दुर्व्यसनमा फस्ने गरेको देखिन्छ । साथीभाइको संगतबाट सुरु हुने सेवन विस्तारै नियमित बन्दै जाँदा युवाहरु लागुऔषधको दलदलमा परिरहेका छन्,’ एसपी कटवाल भन्छन् । उनका अनुसार सम्योक र भूमिकाको घटनाले पनि साथीभाइको संगत र लागुऔषध सेवनले कसरी व्यक्तिगत जीवनलाई प्रभावित पार्न सक्छ भन्ने देखाएको छ ।

पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहको रुपमा अघि बढाउँदै श्रीमान–श्रीमतीका रुपमा बस्न थालेका उनीहरु एक वर्षमै लागुऔषध मुद्दामा पक्राउ परेपछि अहिले कारागार पुगेका छन् । मोरङ प्रहरीले लागुऔषधविरुद्ध विशेष अभियान चलाएको छ । अभियानलाई जारी राखेर लागुऔषधविरुद्धको कारबाही तीव्र पारिएको जानकारी एसपी कटवालले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×