‘पार्टी एकताको पक्षमा छु, सर्वोच्चबाट न्याय मिल्ने विश्वास छ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार १६:००

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू पूर्ण रूपमा पार्टी एकताको पक्षमा रहेको बताएका छन्। शनिबार महाराजगञ्जस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले विशेष महाधिवेशनको पक्षमा आफू नरहेको स्पष्ट पारे।

देउवाले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टी एकता हुने दाबी गरे। ‘सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ। विशेष अधिवेशनको पक्षमा म थिइनँ, मैले मानेको पनि होइन,’ उनले भने, ‘त्यसको खिलाफमा हामीले मुद्दा दिएका छौँ। सर्वोच्चबाट पुनरावलोकन नभएसम्म धेरै बोल्नु हुँदैन। मलाई विश्वास छ, त्यसमा न्याय मिल्छ र पार्टी एकता हुन्छ।’

Advertisement

फरक प्रसङ्गमा देउवाले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अतिआवश्यक रहेको बताए। प्रेसले व्यक्तिपूजा नगरी निष्पक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘स्वतन्त्र पत्रकारिता प्रजातन्त्रका लागि अतिआवश्यक कुरा हो। प्रेस स्वतन्त्रता हरेक लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण हुन्छ।’

पाँच महिनाको विदेश बसाइपछि हालै स्वदेश फर्किएका देउवाले सुदूरपश्चिम र आफ्नो गृहजिल्ला डडेलधुरा जाने इच्छा व्यक्त गरे। त्यहाँका जनताले आफूलाई सधैँ माया गरेर जिताएको स्मरण गर्दै उनले सुदूरपश्चिमका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए। डडेलधुरामा एयरपोर्ट निर्माण गर्ने स्थानीयको चाहना पूरा गर्ने प्रतिबद्धतासमेत उनले जनाए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.