
विराटनगर । विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विराटनगरस्थित अरनिको कलेजमा आयोजना गरिएको वृहत् खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । कलेज परिसरमा आयोजित उक्त प्रतिस्पर्धामा ४२ जना प्रतिस्पर्धीलाई पछि पार्दै कक्षा ९ की छात्रा आरोही ढकाल प्रथम हुन सफल भइन् ।
कलेजका निर्देशक भरतराज दाहालको संयोजकत्वमा सम्पन्न भएको प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा अंशिका गिरी र सेन्डृना कार्की द्वितीय भए भने प्रसिद्ध पोखरेल र कनक कायस्थ तृतीय स्थान हासिल गरे । यस्तै, अन्वेशा घले सान्त्वना पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’, साहित्यकार मीनकुमार नवोदित र साहित्यकार अम्बिका खरेल रहेका थिए । निर्णायक टोलीले ४२ जना प्रतिस्पर्धीहरूमध्येबाट उत्कृष्ट रचना र प्रस्तुतिलाई छनोट गरेको हो ।
विजयी विद्यार्थीहरूलाई कार्यक्रमका अतिथि तथा निर्णायकहरूले ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए । कक्षा १२ की छात्रा प्रस्तुति पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
यस्ता कार्यक्रमले विद्यार्थीहरूको लुकेको साहित्यिक प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कलेज प्रशासनले जनाएको छ ।



















