‘प्रधानमन्त्री पद पनि हाँसीहाँसी अस्वीकार गरेँ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार २१:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई विगतमा प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि अस्वीकार गरेको दाबी गरेका छन्।

आइतबार आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यक्रमको पहिलो शृङ्खलामा बोल्दै लामिछानेले प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा आफ्नो दल २१ सिटसहित निर्णायक अवस्थामा हुँदा प्रधानमन्त्री बन्न प्रस्ताव आएको बताएका हुन्।

Advertisement

उनले तत्काल प्रधानमन्त्री बनेर केही समय सत्ता सञ्चालन गर्नुभन्दा आन्दोलन र जनताको आशालाई प्राथमिकता दिएको दाबी गरे। ‘चाहेको भए दुई–चार महिना वा ६ महिना प्रधानमन्त्री बन्थेँ होला, सिंहदरबारमा तस्बिर झुण्ड्याउँथे होला,’ उनले भने, ‘तर देशले यत्रो आन्दोलन र परिवर्तन कुरेर बसेको थियो।’

लामिछानेले अब विगत ३५ वर्षको राजनीतिक हिसाब खोजेर बस्नुभन्दा आगामी ३५ वर्षका लागि योजना बनाउन नेता–कार्यकर्तालाई आग्रह गरे। विगतका नेतृत्वले आफ्नो क्षमताअनुसार काम गरिसकेको भन्दै उनीहरूलाई निरन्तर दोष दिइरहनुको अर्थ नरहेको उनको भनाइ थियो। उनले अहिले सरकारसँगै प्रतिपक्ष पनि बलियो रहेको उल्लेख गर्दै बदलिँदो राजनीतिक परिस्थितिमा रास्वपाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×