
तीन वर्षकी बालिका बलात्कारको शिकार भएर ज्यान गुमाउँछिन्। त्यस्तै, अर्की बालिका सौतेनी आमाको निशाना बनेर यो संसारबाट सदाका लागि बिदा हुन बाध्य हुन्छिन्। यी दुवै घटना सेलाउन नपाउँदै फेरि सुनिन्छ- एक ४५ वर्षीय बुबा आफ्नै १९ वर्षीय छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
यी हालै मात्र घटेका केही ताजा र प्रतिनिधिमूलक आपराधिक घटना हुन्। तर, यस प्रकृतिका दुःखद घटना हाम्रो समाजमा दशकौँदेखि घटेकै छन्। बलात्कारको शिकार भएर धेरै वर्षअघि उखुबारीमा ज्यान गुमाएकी निर्मला पन्तका हत्यारा आजसम्म पत्ता लाग्न नसक्नु र उनको न्यायका लागि वर्षेनी अनेकौँ होहल्ला भइरहनु पनि त्यसैको निरन्तरताको अर्को बलियो प्रमाण हो।
अब त यस्तो लाग्न थालेको छ- हाम्रो समाजमा यस्ता घटना घट्छन्, केही दिन ती घटनाका बारेमा ठूलै होहल्ला हुन्छ, फेरि उस्तै प्रकृतिका अर्को घटना घट्छ र पुनः उस्तै होहल्ला हुन्छ। मानौँ, घटना घट्नु र त्यसपछि केही समय होहल्ला हुनु नेपाली समाजको एउटा जीवनपद्धति नै बनिसकेको छ। के यस्ता घटना र होहल्लाको यो क्रम अनन्तकालसम्म चलिरहने हो? यो समस्याको दीर्घकालीन समाधान हुनै सक्दैन र?
सुन्दा र देख्दा पनि कति दुःखद परिदृश्य!
भनिन्छ- समस्या हुन्छन्, समस्याका कारण हुन्छन् र समाधानका तत्कालीन तथा दीर्घकालीन उपाय पनि हुन्छन्। तर हाम्रो समाजमा दिनहुँजसो यस्ता घटना घट्दा पनि हामी किन समस्याका मात्र कुरा गरिरहेका छौँ? यति गम्भीर समस्याका कारण पहिचान गर्न र तिनको दीर्घकालीन समाधान खोज्न हामी किन त्यत्तिकै गम्भीर प्रयास गरिरहेका छैनौँ?
अपराध गर्ने दोषीलाई कानुनी कारबाही गर्नु र पीडितलाई राहत उपलब्ध गराउनु समस्याको तत्कालीन समाधान मात्र हो। यस्ता गम्भीर समस्याको दीर्घकालीन समाधान खोज्नु हरेक घरपरिवार, शिक्षण संस्था र सिङ्गो समाजको प्रमुख दायित्व हो।
तीन वर्षकी बालिकालाई बलात्कार गरेर हत्या गर्नु जघन्य अपराध हो भन्ने चेतना अपराधीको मन-मस्तिष्कमा स्थापित गर्न घरपरिवार, शिक्षण संस्था र समग्र समाज किन असफलप्रायः भइरहेका छन्?
बहुविवाह गर्नु नै गलत हो भने बहुविवाह गरिसकेपछि सौता-सौता मिलेर बस्न नसक्नु अर्को समस्या हो। झन्, सौतेनी आमाले ती अबोध बालबालिकाको हत्या गर्नु त जघन्य अपराध हो भन्ने चेतना जगाउन हामी सबैजसो किन असफलप्रायः भइरहेका छौँ?
मादक पदार्थ सेवन गरेर आफ्नै जवान छोरीलाई जबर्जस्ती करणी गर्ने त्यति अनैतिक र अपराधी बाबुहरू हाम्रो समाजमा कसरी उत्पादन भइरहेका छन्? कस्तो जमिनमा त्यस्ता अपराध उम्रन्छन्, हुर्कन्छन् र सिङ्गो समाजलाई यसरी दूषित बनाउँछन्? हाम्रो नेपाली समाजमा त्यति दूषित जमिन किन र कसरी तयार भइरहेको छ?
क्षणिक मनोरञ्जन र केवल सम्पत्तिकै लागि यस्ता अनैतिक कार्य तथा जघन्य अपराध भइरहेका छन् भने नैतिकता र अनुशासन कायम गर्न हाम्रो सिङ्गो समाज आज किन यसरी असफल भइरहेको छ?
आज हाम्रो समाजका धेरै बालबालिका किन कुलतमा नराम्ररी फस्दै गएका छन्? लागू पदार्थको सहज उपलब्धता र त्यसको बढ्दो दुरुपयोग नियन्त्रण गर्न हामी किन दशकौँदेखि असफलप्रायः भइरहेका छौँ? हामी अभिभावकवर्ग र हाम्रा शिक्षण संस्थाहरू हाम्रा बालबालिकालाई नैतिकता र अनुशासनको पाठ सिकाउन किन असफलप्रायः भइरहेका छौँ?
यी र यस्ता अत्यन्तै पेचिला प्रश्नको चित्तबुझ्दो जवाफ खोज्न हामी हरेक अभिभावक र सिङ्गो समाज जुन दिनसम्म सफल हुँदैनौँ, त्यो दिनसम्म यस्ता समस्याको दीर्घकालीन समाधान हुनै सक्दैन।
त्यसकारण मानवीय मूल्य-मान्यता, विवेक, नैतिकता र अनुशासनसँग गहिरो सम्बन्ध राख्ने यति गम्भीर समस्याको दीर्घकालीन समाधानका लागि अब हामी सबैले अत्यन्तै विशाल छाती बनाएर आ–आफ्नो स्थानबाट लाग्नुपर्छ। जागौँ। जुटौँ।
निहित स्वार्थको शिकार भएर यस्ता गम्भीर विषयमा हल्काफुल्का टीकाटिप्पणी गर्दै क्षणिक मनोरञ्जनमा रमाउने गम्भीर गल्ती कसैले पनि कदापि नगरौँ।
समयमै हामी सबैको चेत खुलोस्।

























