
हातमा स्मार्टफोन छ । केही सेकेन्डमै डिजिटल वालेटबाट पैसा तिर्न सकिन्छ। सामाजिक सञ्जालले देश–विदेशका सूचना घरमै ल्याइदिएको छ । बैंकिङदेखि किनमेलसम्मका अधिकांश काम मोबाइलबाटै सम्भव भएका छन् । प्रविधिले हाम्रो जीवनलाई सहज बनाएको छ, समय बचाएको छ र संसारसँगको दूरी घटाएको छ।
तर यही सहजताको अर्को पाटो पनि छ– साइबर अपराध ।
हामीले प्रविधिलाई जति सहज रूपमा आफ्नो जीवनको हिस्सा बनाउँदै गएका छौँ, अपराधीहरूले पनि त्यही प्रविधिलाई अपराधको माध्यम बनाइरहेका छन् । कोशी प्रदेशमा पछिल्ला वर्षहरूमा साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै जानु त्यसको एउटा स्पष्ट संकेत हो ।
प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा साइबर अपराधसम्बन्धी ४० वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा यस्तो मुद्दाको सङ्ख्या ३५ थियो । अर्थात् एक वर्षमै १४.३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २४ वटा मुद्दा दर्ता भएकोमा दुई वर्षमै यो सङ्ख्या ६६.७ प्रतिशतले बढेको देखिन्छ ।
यी तथ्याङ्कलाई केवल प्रहरीमा दर्ता भएका मुद्दाको सङ्ख्याका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यसको पछाडि प्रविधिमा बढ्दो निर्भरता र त्यससँगै बढिरहेको जोखिम लुकेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार प्रविधिको विकाससँगै अपराधको शैली पनि परिवर्तन भएको छ । पहिले भौतिक रूपमा हुने ठगी अहिले डिजिटल माध्यममा सरेको छ । अपराधीले प्रविधि मात्र होइन, मानिसको मनोविज्ञानसमेत प्रयोग गर्न थालेका छन् ।
राष्ट्रिय तथ्याङ्कले पनि जोखिमको आकार झन् ठूलो देखाउँछ। आर्थिक वर्ष २०८२/८३ मा नेपाल प्रहरीको साइबर ब्युरोमा देशभर २० हजार ५२६ वटा साइबर अपराधसम्बन्धी उजुरी तथा निवेदन दर्ता भएका छन् । तीमध्ये ठूलो हिस्सा सामाजिक सञ्जालसँग सम्बन्धित छ ।
फेसबुक र म्यासेन्जरसम्बन्धी ७ हजार १२३, टिकटकसम्बन्धी ६ हजार ७७६, ह्वाट्सएपसम्बन्धी ३ हजार १०५ र टेलिग्रामसम्बन्धी १ हजार ३१ वटा उजुरी दर्ता भएका छन् । इसेवा, खल्ती तथा बैंक खाताको दुरुपयोगसम्बन्धी ७४४ र संस्थागत प्रकृतिका ८४६ वटा उजुरी पनि छन् ।
फेसबुक र टिकटकसँग सम्बन्धित उजुरी मात्रै १३ हजार ८९९ पुग्नु आफैँमा गम्भीर संकेत हो। सामाजिक सञ्जाल अब मनोरञ्जन, सूचना र सम्पर्कको माध्यम मात्र रहेन, अपराधीका लागि पनि सम्भावित शिकार खोज्ने र मानिसलाई झुक्याउने माध्यम बन्दै गएको छ ।
अपराधको शैली पनि पुरानै छैन । पहिले अनलाइन ठगी भन्नासाथ अपरिचित इमेलमा लटरी परेको वा चिठ्ठा जितेको सन्देश सम्झिन्थ्यौँ । अहिले ठगी अझ विश्वासिलो देखिने गरी हुन थालेको छ ।
कहिले बैंक वा डिजिटल वालेटका कर्मचारी बनेर फोन आउँछ । कहिले खातामा पुरस्कार वा ‘रिवार्ड पोइन्ट’ जम्मा भएको भन्दै लोभ देखाइन्छ । कहिले वैदेशिक रोजगारी वा घरमै बसेर आकर्षक आम्दानी हुने कामको प्रस्ताव आउँछ । कतिपय अवस्थामा सामाजिक सञ्जाल खाता नै ह्याक गरेर साथीभाइ वा आफन्तसँग पैसा मागिन्छ ।
समस्या के हो भने अपराधीको प्रविधि बदलिन केही समय लाग्दैन, तर सर्वसाधारणलाई सचेत हुन समय लाग्छ । एउटा गलत क्लिक, अपरिचित व्यक्तिलाई दिएको गोप्य विवरण वा हतारमा गरिएको आर्थिक कारोबारले वर्षौँको कमाइ क्षणभरमै गुम्न सक्छ ।
अर्को महत्वपूर्ण पक्ष उजुरी र मुद्दाबीचको अन्तर हो । देशभर हजारौँ उजुरी परे पनि ती सबै तत्काल अदालतमा मुद्दाका रूपमा पुग्दैनन् । उजुरीपछि प्रहरीले प्रारम्भिक अनुसन्धान, डिजिटल प्रमाण सङ्कलन, प्राविधिक विश्लेषण र संलग्न व्यक्तिको पहिचान गर्नुपर्ने हुन्छ ।
आर्थिक वर्ष २०८२/८३ मा साइबर ब्युरोले १६१ वटा मुद्दा दर्ता गरी १५५ जनालाई पक्राउ गरेको तथ्याङ्कले पनि अनुसन्धान प्रक्रिया र मुद्दा दर्ताबीचको फरक देखाउँछ ।
त्यसमाथि साइबर अपराधको अनुसन्धान आफैँमा जटिल छ । अपराधी विदेशमा बसेर अपराध गरिरहेको हुन सक्छ । प्रयोग भएका सामाजिक सञ्जाल वा डिजिटल सेवाका कम्पनीहरू नेपालबाहिर हुन सक्छन् । त्यस्ता संस्थाबाट डिजिटल प्रमाण वा विवरण प्राप्त गर्न कानुनी र प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । अपराधीले प्रविधि बदलिरहँदा अनुसन्धान संयन्त्रले पनि आफूलाई निरन्तर अद्यावधिक गर्नुपर्ने चुनौती छ ।
त्यसैले साइबर अपराध नियन्त्रणको जिम्मेवारी प्रहरी वा राज्य संयन्त्रको मात्र होइन । यसको पहिलो सुरक्षा घेरा स्वयं प्रयोगकर्ता पनि हो ।
अपरिचित लिंक नखोल्ने, आफ्नो बैंकिङ तथा डिजिटल वालेटको गोप्य विवरण कसैलाई नदिने, सामाजिक सञ्जालको पासवर्ड बलियो बनाउने, दुई तहको सुरक्षा प्रणाली प्रयोग गर्ने र अनलाइनमा प्राप्त हुने अस्वाभाविक प्रस्तावमाथि तत्काल विश्वास नगर्ने सामान्य सावधानीले पनि ठूलो जोखिमबाट जोगाउन सक्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, ठगी वा साइबर अपराधको शिकार भइहाले लाज वा डरका कारण घटना लुकाउनु हुँदैन । समयमै सम्बन्धित निकायमा उजुरी गर्दा अनुसन्धान र दोषी पहिचानमा सहयोग पुग्न सक्छ ।
प्रविधि आफैँमा समस्या होइन । समस्या यसको गलत प्रयोग हो । डिजिटल युगबाट पछाडि फर्किन सम्भव छैन, न त आवश्यक नै छ । तर प्रविधिको सुविधा उपयोग गर्दै गर्दा त्यससँग जोडिएको जोखिमबारे सचेत हुनु भने अनिवार्य छ ।
कोशी प्रदेशमा बढ्दो साइबर अपराधका तथ्याङ्कले एउटा स्पष्ट सन्देश दिएको छ- अब ‘म त सावधान छु, मलाई केही हुँदैन’ भनेर ढुक्क हुने समय छैन । साइबर अपराधीले प्रविधि प्रयोग गर्छ भने हामीले पनि त्यही प्रविधिसँगै सचेतना र सुरक्षा उपायलाई आफ्नो डिजिटल जीवनको अनिवार्य हिस्सा बनाउनुपर्छ ।
प्रविधि बदलिँदै जान्छ, अपराधको शैली पनि बदलिन्छ । त्यसैले सुरक्षित रहने पहिलो उपाय एउटै हो- सचेत बनौँ, सावधानी अपनाऔं ।

























