
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महासचिव शङ्कर पोखरेलले तयार पारेको पार्टीको ‘शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना’सम्बन्धी प्रतिवेदनको मस्यौदा अस्वीकार गरेका छन्। ओलीले मस्यौदामा प्रयोग भएको ‘पुनर्गठन’ शब्दप्रति समेत आपत्ति जनाउँदै त्यसको सट्टा ‘पुनर्जागरण’ शब्द प्रयोग गर्नुपर्ने धारणा राखेका छन्।
गत जेठ १० गते बसेको सचिवालयको आठौँ बैठकले पार्टीको शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणका लागि कार्ययोजना तयार गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलका सदस्यसचिवसमेत रहेका महासचिव पोखरेलले सातवटै प्रदेशबाट प्राप्त सुझाव समेटेर प्रतिवेदनको मस्यौदा तयार पारेका थिए।
तर, उक्त मस्यौदाप्रति ओलीले असहमति जनाउँदै कार्यदलका संयोजक बादललाई त्यसमा आवश्यक संशोधन गर्न वा अलग्गै प्रतिवेदन तयार पार्न निर्देशन दिएका छन्। ओलीको निर्देशनपछि बादल पुनर्लेखनमा जुटेका छन्।
भदौ ४ गते राति कार्यदलका संयोजक बादलसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र सचिव भानुभक्त ढकाललगायतका नेता प्रतिवेदनबारे छलफल गर्न ओली निवास भक्तपुरको गुण्डु पुगेका थिए। छलफलका क्रममा ओलीले यसअघि तयार पारिएको प्रतिवेदनका कतिपय विषयप्रति असहमति जनाउँदै त्यसलाई पुनर्लेखन गर्न निर्देशन दिएका थिए। तर, पौडेल र पोखरेलले प्रतिवेदनमा तलबाट आएका सुझाव समेटिएको भन्दै पुनर्लेखन गर्न नसकिने अडान राखेका थिए। यही विषयमा छलफल केही चर्किएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार प्रतिवेदनमा प्रयोग गरिएको ‘पुनर्गठन’ शब्दप्रति ओलीले विशेष आपत्ति जनाएका थिए। उनले पार्टी पुनर्गठनको समय अहिले नभएको भन्दै ‘पुनर्जागरण’ शब्द प्रयोग गर्नुपर्ने बताएका थिए। ‘पुनर्गठन होइन, पुनर्जागरण शब्द राख्नुपर्छ। अहिले पुनर्गठनको समय होइन, त्यो शब्द उपयुक्त हुँदैन,’ ओलीले कार्यदलका नेताहरूलाई भनेका थिए।
ओलीको भनाइमा संयोजक बादलले सहमति जनाए पनि उपाध्यक्ष पौडेलले भने त्यसमा असहमति जनाएका थिए। उनले कार्यदल गठन गर्दादेखि नै ‘पुनर्गठन कार्ययोजना’ भनिएको र प्रदेश तथा तल्लो तहबाट आएका सुझावलाई प्रतिवेदनमा समेटिएकाले उक्त शब्द परिवर्तन गर्न नहुने अडान राखेका थिए। पौडेल र पोखरेलले तलबाट आएका सुझाव जस्ताको तस्तै समेटिनु प्रतिवेदनको मौलिकता भएको भन्दै पुनर्लेखन गर्दा नेता–कार्यकर्ताको भावनाविपरीत हुन सक्ने बताएका थिए।
छलफलका क्रममा ओलीले पार्टीलाई कमजोर बनाउने नभई अझ एकताबद्ध र सुदृढ बनाउने खालको प्रतिवेदन आउनुपर्ने धारणा राखेका थिए। पौडेल र पोखरेलले पनि पार्टीलाई एकताबद्ध बनाउने विषयमा आफूहरूको कुनै मतभेद नरहेको, तर कार्यकर्ताको भावना प्रतिवेदनबाट छुट्न नहुनेमा जोड दिएका थिए।
दुवै नेताले आफ्नो अडान नछाडेपछि ओलीले कार्यदलका संयोजक बादललाई अन्तिम प्रतिवेदन तयार पारेर पेस गर्न निर्देशन दिएका थिए। ओलीको निर्देशनपछि बादल भदौ ५ गतेदेखि अलग्गै प्रतिवेदन लेखनमा जुटेका छन्। बादलले छुट्टै प्रतिवेदन तयार पारेमा पौडेल र पोखरेल पक्षले पनि आफ्ना सुझावसहितको प्रतिवेदन पेस गर्ने तयारी छ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिएपछि सचिवालय हुँदै केन्द्रीय कमिटीको बैठक बस्ने विषयमा नेताहरूबीच छलफल भइरहेको जानकारी दिए। ‘केही समयभित्रै कार्यदलको बैठक बस्ने, त्यसपछि सचिवालय र भदौभित्र केन्द्रीय कमिटीको बैठक बस्ने तयारी हुँदैछ,’ आचार्यले भने, ‘यसका लागि नेताहरू सरसल्लाहमै हुनुहुन्छ।’

























