अकल्पनीय बाढीको अनुसन्धान तीव्र, तल्लो तटीय क्षेत्रमा जोखिम कायमै

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार ०७:५४

काठमाडौं । रसुवामा बुधबार आएको भीषण एवं आकस्मिक बाढीको कारणका बारेमा वैज्ञानिक र सरकारी निकायले अनुसन्धान तीव्र बनाएका छन् । प्रारम्भिक अध्ययनले उच्च हिमाली क्षेत्रमा गएको हिउँ–चट्टानको हिमपहिरो (आइस–रक एभालान्च)का कारण भोटेकोशीको सहायक ल्हेन्दे खोलामा एक्कासि ठूलो परिमाणमा पानी, हिउँ, गेग्रान र चट्टान खसेर बाढी आएको हुनसक्ने देखाएको छ ।

बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्‍याएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो । त्यसको केही समयपछि ८ः५० बजेबाट भोटेकोशीको स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्यांक प्राप्त हुन बन्द भएको थियो ।

Advertisement

बिहान ९ः०५ बजे तिब्बततर्फबाट ठूलो बाढी भोटेकोशी क्षेत्रमा प्रवेश गरेको सूचना आएपछि तटीय क्षेत्रमा पूर्वसूचना र सतर्कता सन्देश जारी गरिएको थियो । बाढी बिहान १०ः२८ बजे धादिङको गल्छी, ११ः५० बजे मलेखु बजार हुँदै दिउँसो १ बजे मुग्लिङ पार गरेर ३ः२० बजेतिर चितवनको देवघाट पुगेको थियो । साँझ ६ः३० बजे देवघाटमा नदीको बहाव सामान्य अवस्थामा फर्किएको प्रतिवेदनमा उल्लेख छ ।

बाढीको बहाव अत्यन्त तीव्र रहेको जलविज्ञानसम्बन्धी तथ्यांकले देखाएको छ । गल्छीमा त्रिशूली नदीको पानीको सतह ३० मिनेटमै करिब ९ मिटर र मलेखुमा ७ मिटर बढेको पाइएको छ । बाढीका क्रममा त्रिशूली नदी किनारका धेरै जलमापन केन्द्र क्षतिग्रस्त भएका एवं बगेका छन् । गल्छीको जलमापन केन्द्र भने सञ्चालनमै रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड), नेपाल तथा चीनका साझेदार संस्थाका वैज्ञानिकले भिडियो फुटेज, स्थलगत सूचना, जलविज्ञान, भूकम्पीय तथा रिमोट सेन्सिङ तथ्यांकको विश्लेषण गरिरहेका छन् । प्रारम्भिक मूल्यांकन अनुसार ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा ठूलो मात्रामा हिउँ र चट्टानको गेग्रान खसेपछि अचानक ठूलो बहाव उत्पन्न भएको हुनसक्छ ।

वैज्ञानिकहरूले बाढीका क्रममा गेग्रानले नदीको साँघुरो भाग थुनेर अस्थायी पहिरो बाँध बनेको थियो कि थिएन भन्ने विषयमा समेत अध्ययन गरिरहेका छन् । यदि त्यस्तो अवरोध बनेको भए त्यसमा जम्मा भएको पानी अचानक बाहिर निस्कँदा अर्को बाढीको जोखिम हुनसक्ने भएकाले सम्भावित अवरोधको स्थान, आकार र स्थायित्व निरन्तर निगरानी भइरहेको छ ।

बाढीका क्रममा जिलुङ र चीनको झाङ्मुस्थित भूकम्पमापन केन्द्रमा असामान्य संकेतसमेत रेकर्ड भएका छन् । तर, ती संकेत हिमपहिरोसँग सम्बन्धित थिए वा थिएनन् भन्ने अझै पुष्टि भएको छैन । वैज्ञानिकहरूले भूकम्पीय गतिविधि र बाढीबीच हालसम्म कुनै कारणात्मक सम्बन्ध स्थापित नभएको स्पष्ट पारेका छन् ।

इसीमोडका विज्ञहरूले नेपाल–चीन सीमावर्ती क्षेत्रमा माथिल्लो भागमा अझै सम्भावित अवरोध रहेकाले तल्लो तटीय क्षेत्रमा दोस्रो बाढीको जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । सम्भावित जोखिमलाई ध्यान दिँदै जिलुङ बन्दरगाह सुरक्षित स्थानमा सार्ने आदेशसमेत जारी गरिएको बताइएको छ । भोटेकोशी तथा यससँग जोडिएका नदी प्रणालीका किनारमा रहेका जलविद्युत् आयोजना र अन्य पूर्वाधारसमेत जोखिममा पर्न सक्ने भएकाले निगरानी बढाइएको छ ।

इसीमोडका वरिष्ठ क्रायोस्फियर विशेषज्ञ मोहम्मद फारुक आजमले हिमनदी, हिउँ, पर्माफ्रस्ट र हिमाली भू–भागमा भइरहेको परिवर्तनका कारण क्रायोस्फियरसँग सम्बन्धित जोखिम बढ्दै गएको बताए । उनका अनुसार पछिल्लो घटनाले सीमापार विपद् जोखिम सामना गर्न नेपाल र चीनबीच अझ प्रभावकारी क्षेत्रीय सहकार्य आवश्यक रहेको देखाएको छ ।

यद्यपि, वैज्ञानिकहरूले यस अकल्पनीय बाढीमा जलवायु परिवर्तनको भूमिका नै मुख्य कारण थियो भनेर निष्कर्ष निकाल्न अहिले हतार गर्न नहुने बताएका छन् । हिमनदी, हिउँ, पर्माफ्रस्ट तथा हिमाली भिरालो भू–भागमा जलवायु परिवर्तनका कारण परिवर्तन भइरहेको भए पनि पछिल्लो घटनासँग त्यसको प्रत्यक्ष सम्बन्ध थप अध्ययनपछि मात्र स्पष्ट हुने उनीहरूको भनाइ छ ।

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको जनाएको छ । तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरिएको छ । क्षतिग्रस्त जलमापन केन्द्र र अन्य पूर्वाधारका कारण जोखिमको सूचना संकलनमा चुनौती रहेकाले नदी किनारमा रहेका समुदायलाई थप सावधानी अपनाउन आग्रह गरिएको छ ।

इसीमोडका महानिर्देशक पेमा ग्याम्त्सोले विपद्बाट प्रभावित नागरिक तथा परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन अवस्थामा नेपालका जनता र सरकारसँग ऐक्यबद्धता जनाएका छन् । उनले सम्भव भएसम्म सहयोग र समन्वय जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×