
विराटनगर । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत र पुनर्निर्माणका लागि एके राठी ग्रुप र सारडा ग्रुपले संयुक्त रूपमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
एके राठी ग्रुपका निर्देशक एवं मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले सोमबार अर्थ मन्त्रालयमामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
चेक हस्तान्तरणका क्रममा दुवै समूहका प्रतिनिधिले राष्ट्रिय संकटको समयमा सरकारसँग सहकार्य गर्नु निजी क्षेत्रको सामाजिक उत्तरदायित्व भएको बताए । सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले मानवीय संकटको घडीमा निजी क्षेत्रले सधैँ सरकारलाई साथ दिँदै आएको स्मरण गराए । त्यस्तै, राठी ग्रुपका निर्देशक अनुपम राठीले प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको पुनर्स्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।
सहयोगका अतिरिक्त सारडा ग्रुपले आफ्नो वार्षिकोत्सवको अवसर पारेर बाढीपीडित र घाइतेहरूको उपचारका लागि विराटनगर र काठमाडौँमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो, जसमा १५० पिन्ट रगत संकलन गरिएको थियो ।
सडक, पुल र बस्तीहरूमा पुगेको क्षतिका कारण राहत र उद्धार कार्य चुनौतीपूर्ण बनिरहेका बेला निजी क्षेत्रबाट प्राप्त यो ठुलो आर्थिक सहयोगले पुनर्निर्माणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।



















