
विराटनगर । १९औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा परोपकार अभियान समूह विराटनगरले परोपकार पुस्तकालयका संस्थापक प्राज्ञ दधिराज सुवेदीको स्मृतिमा कार्यक्रम आयोजना गरेको छ । आज (सोमबार) आयोजित कार्यक्रममा ‘आजको सन्दर्भमा पुस्तकालयको आवश्यकता’ तथा दधिराज सुवेदीको बहुआयामिक व्यक्तित्व र योगदानबारे विभिन्न वक्ताले चर्चा गरेका थिए ।
पुस्तकालयको महत्त्वबारे प्रा. डा. भेषप्रसाद धमलाले धारणा राखेका थिए भने दधिराज सुवेदीको कृतित्वमाथि प्राज्ञ विवश पोखरेल र व्यक्तित्वमाथि प्राध्यापक कविराज न्यौपानेले चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थाकी सह–कोषाध्यक्ष तथा पुस्तकालय संयोजक इन्दु सुवेदीले परोपकार पुस्तकालय स्थापनादेखि हालसम्मको अवस्थाबारे जानकारी दिँदै सहभागीलाई स्वागत गरेकी थिइन् । संस्थाका सचिव कुलप्रसाद पौडेलले संस्थाका गतिविधिबारे जानकारी गराएका थिए भने उपाध्यक्ष किशोर भट्टराईले परोपकार अभियान समूहको स्थापनाकालदेखि हालसम्मको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशकी सभासद् शिला दीक्षित कार्कीले परोपकार अभियान समूह विराटनगरले समाजमा विशिष्ट योगदान पुर्याउँदै आएको बताइन् । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार बलराम पोखरेलले परोपकार अभियान समूहका गतिविधि र परोपकार पुस्तकालयका संस्थापक दधिराज सुवेदीको योगदानको समाजले मूल्याङ्कन गर्दै आएको बताए । विभिन्न समुदायका मानिसलाई जोड्ने काममा संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो । संस्थाका अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष न्यौपानेले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा मुलुकमा हालै घटेको विपत्तिमा परी ज्यान गुमाएका सबैको स्मरण गर्दै सामूहिक श्रद्धाञ्जली अर्पण गरिएको संस्थाका उपाध्यक्ष सोमराज कोइरालाले जानकारी दिए ।



















