श्रम संस्कृति पार्टीमा एकतापछि विवाद चुलियो, किराती पक्षलाई केन्द्रीय बैठकमै बोलाइएन

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार १०:३३

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीभित्र पूर्वमन्त्री सुदन किराती समूहसँग भएको पार्टी एकतापछि आन्तरिक विवाद चर्किएको छ ।

एकता भएको चार महिनापछि आज (मंगलबार) धरानस्थित होटल गोर्खामा बस्न लागेको केन्द्रीय समिति बैठकमा किराती समूहलाई नै सहभागी नगराएपछि दुई पक्षबीचको दूरी थप बढेको हो । किराती समूहसँग चार महिनाअघि भएको एकतापछि श्रम संस्कृति पार्टीको केन्द्रीय समिति ४१ सदस्यीय बनेको थियो । एकताअघि पार्टीमा २३ जना केन्द्रीय सदस्य थिए ।

Advertisement

एकताका क्रममा किराती समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्य गरी १८ जना पार्टीमा समाहित भएका थिए । एकतापछि किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो ।

पार्टी एकतापछि अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत सुदन किरातीलाई कोशी प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका थिए । किराती निकट नेताहरूका अनुसार त्यसबेला पार्टीभित्र उनलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गर्ने वातावरण बनेको थियो ।

किराती निकट एक नेताले पूर्वी नेपालमा पार्टीको गतिविधि विस्तार गर्न किराती सक्रिय रूपमा लागिरहेको दाबी गरे । उनका अनुसार विभिन्न कार्यक्रममा कार्यकर्ताले किरातीलाई भावी मुख्यमन्त्री भन्दै नाराबाजीसमेत गर्ने गरेका थिए । किरातीले ‘हातेमालो’ अभियानमार्फत पूर्वी नेपालमा पार्टी विस्तारको गतिविधि अघि बढाएपछि बहालवाला जनप्रतिनिधिसमेत पार्टीमा आउने वातावरण बनेको उनको भनाइ छ ।

तर, पछिल्लो समय साम्पाङ र किरातीबीच सम्बन्धमा चिसोपना आएको देखिएको छ । विशेषगरी साम्पाङले सामाजिक सञ्जालमार्फत पार्टीका गतिविधि सञ्चालन गर्ने गरेको विषयमा किराती पक्ष असन्तुष्ट रहेको बताइएको छ । यही क्रममा किराती समूहलाई केन्द्रीय समिति बैठकको जानकारीसमेत नदिइएपछि विवाद थप सतहमा आएको हो ।

स्रोतका अनुसार मंगलबार केन्द्रीय समिति बैठक बस्न लागेको जानकारीसमेत किरातीलाई औपचारिक रूपमा दिइएको थिएन । साम्पाङ र किरातीबीच प्रत्यक्ष सम्पर्क नभएको लामो समय भइसकेको स्रोतको दाबी छ ।

किराती निकट एक नेताले पार्टीभित्र सामूहिक छलफल र परामर्शको अभाव रहेको आरोप लगाए । उनका अनुसार अध्यक्ष साम्पाङले सामाजिक सञ्जाललाई नै पार्टी सञ्चालनको मुख्य माध्यम बनाइरहेका छन् । अन्य नेताहरूसँग पर्याप्त छलफल गर्दैनन् ।

आफूहरूसँग सम्पर्क नभएपछि किरातीले बैठकमा नबोलाउनुको कारणका बारेमा पार्टीका अन्य नेताहरूसँग जानकारी लिएका थिए । त्यसक्रममा नेताहरूले बैठकबाट पार्टी एकताको निर्णय अनुमोदन गर्ने र त्यसपछि मात्रै एकीकृत रूपमा बैठक सञ्चालन गर्ने जानकारी दिएको बताइएको छ ।

तर, यो जवाफबाट किराती पक्ष भने पूर्ण रूपमा आश्वस्त हुन सकेको छैन । स्रोतका अनुसार किरातीले पछिल्लो अवस्थाका बारेमा आफू निकट नेताहरूसँग छलफल सुरु गरेका छन् । पार्टी एकतापछि निर्माण भएको नयाँ संरचनामा देखिएको विवादले आगामी दिनमा श्रम संस्कृति पार्टीभित्रको सम्बन्ध कस्तो मोडमा पुग्छ भन्ने विषयलाई चासोको रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×