प्रधानमन्त्रीले भने, ‘भोटेकोशीको सुरुङमा थुनिएकाको उद्धार मौसममा निर्भर, तत्काल प्रवेश गर्न सक्ने अवस्था छैन’

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार १४:०४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भोटेकोशी नदीमा आएको भीषण बाढीपछि लेदोले थुनिएका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको तत्काल उद्धार गर्न कठिन रहेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सुरुङभित्र बाढीसँगै ठूलो मात्रामा लेदो पसेकाले अहिले उद्धार टोलीलाई भित्र प्रवेश गराउन सक्ने अवस्था नरहेको बताए । प्रधानमन्त्री शाहका अनुसार भोटेकोशी र त्रिशूली क्षेत्रका सुरुङ पहिरोले मात्र थुनिएका होइनन् । बाढीसँगै आएको लेदो सुरुङभित्र भरिएपछि समस्या थप जटिल बनेको हो ।

Advertisement

यस्तो प्रकृतिको घटना नेपालमा मात्र नभई विश्वमै असामान्य रहेकाले तत्काल उद्धार गर्न सक्ने प्रविधि उपलब्ध नभएको उनले बताए । उनले मौसममा सुधार आएपछि सुरुङभित्रको लेदो सुक्दै गएर उद्धार टोलीलाई सुरक्षित रूपमा प्रवेश गर्न र त्यहाँ टिकेर काम गर्न सक्ने अवस्था बनेपछि उद्धार अघि बढाउन सकिने बताए ।

‘जतिबेला मौसमले साथ दिन्छ र सुरुङमा पसेको हिलो सुक्ने अवस्था बन्छ, त्यहाँ पस्न र अडिन सक्ने अवस्था हुन्छ, त्यसबेला मात्रै उद्धार सम्भव हुन्छ,’ प्रधानमन्त्री शाहले भने । प्रधानमन्त्रीले अहिलेको घटनालाई विगतमा विश्वका विभिन्न मुलुकमा भएका सुरुङ तथा पहिरो उद्धारका घटनासँग तुलना गर्न नमिल्ने पनि बताए ।

अन्य मुलुकमा भएका अधिकांश उद्धार पहिरोमा परेका व्यक्तिलाई बाहिर निकाल्नेसँग सम्बन्धित भए पनि भोटेकोशीमा भने बाढीसँगै आएको लेदोले सुरुङ नै भरिएको अवस्था रहेको उनको भनाइ छ । सुरुङको मुखसम्म ठूलो संख्यामा डोजर तथा अन्य भारी उपकरण लैजानसमेत भौगोलिक कठिनाइ रहेको प्रधानमन्त्रीले बताए ।

उनका अनुसार सुरुङ रहेको स्थानमा ८–१० वटा डोजर परिचालन गरेर तत्काल उद्धारको प्रयास गर्ने अवस्था छैन । उद्धार कार्यमा नेपालका सुरक्षा निकायसँगै चीन र भारतका विज्ञहरूको समेत सहयोग लिइरहेको प्रधानमन्त्री शाहले जानकारी दिए ।

सुरुङभित्रको वास्तविक अवस्था बाहिरबाट अनुमान गरेजस्तो नहुने भन्दै उनले उद्धारमा खटिएका सुरक्षाकर्मीको अवस्थालाई समेत ध्यान दिनुपर्ने बताए । सरकारले उद्धारका लागि आवश्यक सबै प्रयास गरिरहेको दाबी गर्दै प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भइरहेको आलोचनाबाट सरकार विचलित नभएको बताए ।

उनले उद्धारमा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनालाई निरुत्साहित गर्नेभन्दा पनि उनीहरूको कामलाई प्रोत्साहन गर्न आग्रह गरे । ‘हामीले गर्ने काम गरिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भने, ‘सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनालाई यो भएन, त्यो भएन नभन्नुहोस्, उनीहरूलाई प्रोत्साहन गर्नुहोस् ।’

भोटेकोशीमा आएको बाढीले जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याउनुका साथै सुरुङमा समेत ठूलो मात्रामा लेदो पसेपछि उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ । सरकारले मौसम र सुरुङभित्रको अवस्थालाई निरन्तर मूल्यांकन गर्दै उद्धारको काम अघि बढाउने गरिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेन रसुवा घटनापछि पहिलो पटक सदनमा सम्बोधन गर्दै ( सम्बोधनको पूर्ण पाठ)
भोटेकोशी बाढी : भान्सामै व्यस्त थिए महिला, एक्कासि बाढी आउँदा घरसँगै बेपत्ता
प्रधानमन्त्री राहत कोषमा झण्डै ८ अर्ब, बाढीपीडितका लागि १ अर्ब निकासा
प्रधानमन्त्रीले भने, ‘भोटेकोशीको सुरुङमा थुनिएकाको उद्धार मौसममा निर्भर, तत्काल प्रवेश गर्न सक्ने अवस्था छैन’
भोटेकोशी बाढीबारे तत्काल वैज्ञानिक अध्ययन गर्न विज्ञको सुझाव
भोटेकोशी बाढीको त्रासदी संसदमा सुनाउँदै प्रधानमन्त्री, ‘यो पीडा सिंगो देशको हो’
बाढीपीडितलाई थप साढे ६ करोड
सडक भासिएपछि नागढुंगा सुरुङमार्ग खुला
काँकडभिट्टा नाकामा तस्करमाथि ‘गोप्रो’को नजर, सशस्त्रले बढायो प्रविधिमार्फत निगरानी
मोरङ कारागारको ‘ए ब्लक’का कैदीबन्दीद्वारा बाढीपीडितलाई आर्थिक सहयोग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×