
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आज (बुधबार) को बैठकमा उनले बाढीपहिरोबाट पर्यटन व्यवसाय र पूर्वाधारमा भएको क्षति तथा त्यसले भविष्यमा पार्न सक्ने आर्थिक असरसमेतका आधारमा उक्त अनुमान गरिएको बताए । मन्त्री पौडेलका अनुसार बाढीपहिरोबाट रसुवा क्षेत्रमा १४२ होटल, ५७ रेस्टुरेन्ट र पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधनमा क्षति पुगेको छ। विभिन्न महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदासमेत प्रभावित भएका छन् ।
लाङटाङ, गोसाइँकुण्ड, पार्वतीकुण्ड र नाथली पदमार्गमा क्षति पुगेकाले वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था आएको उनले बताए । प्रभावित क्षेत्रलाई मन्त्रालयमार्फत ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको जानकारी दिँदै उनले संग्रहालय, स्मारक, पार्क वा अन्य संरचना निर्माणबारे सरोकारवालासँग छलफल गरेर निर्णय गरिने बताए ।
जलवायु परिवर्तनका कारण नेपालले ठूलो विपत्ति भोग्नुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले नगरेको गल्तीको असर नेपालीले भोग्नुपरेको बताए। जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई अन्तर्राष्ट्रिय समुदायले आवश्यक सहयोग र प्रविधि उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । हिमाली क्षेत्रमा रहेका हिमताल र हिमनदीको जोखिमलाई ध्यानमा राख्दै विपद् आउनुअघि सूचना दिन सक्ने आधुनिक प्रविधिको आवश्यकता रहेको पनि उनले बताए । विश्वका विभिन्न मुलुकमा प्रयोग भइरहेका यस्ता प्रविधि नेपालमा भित्र्याउन अन्तर्राष्ट्रिय समुदायसँग पहल गरिने उनको भनाइ थियो ।
बाढीपहिरोका क्रममा उद्धार तथा राहतमा नेपाली हवाई कम्पनी र हेलिकप्टर व्यवसायीले महत्वपूर्ण योगदान गरेको भन्दै मन्त्री पौडेलले त्यसलाई राष्ट्रप्रतिको महत्वपूर्ण योगदानका रूपमा हेरिने बताए । पोखरा, चितवन र काठमाडौंलगायतका होटल व्यवसायीले प्रभावितलाई निःशुल्क बसोबास तथा खानाको व्यवस्था गरेकोमा उनले धन्यवाद दिए । रसुवा बाढीमा कति विदेशी पर्यटक बेपत्ता भए भन्ने विषय अन्तिम तथ्याङ्क आएपछि मात्र यकिन हुने उनले बताए । प्रभावित पर्यटक तथा उनीहरूका परिवारलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत आवश्यक स्थानमा ‘डेस्क’ स्थापना गर्ने प्रक्रिया अघि बढाइएको र यस विषयमा विभिन्न मन्त्रालय तथा दूतावाससँग समन्वय भइरहेको जानकारी उनले दिए ।
विपद्का कारण नेपालको पर्यटनबारे अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जान नदिन प्रभावकारी सञ्चार आवश्यक रहेको मन्त्री पौडेलले बताए । अन्तर्राष्ट्रिय पहुँच भएका व्यक्तिहरूमार्फत नेपाल सुरक्षित रहेको र नेपालको पर्यटन उद्योग पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश विश्वभर पुर्याउनुपर्ने उनको भनाइ थियो । ‘प्राकृतिक विपत्ति संसारका जुनसुकै ठाउँमा हुन सक्छ। यसले नेपालको पर्यटन उद्योगलाई भत्काउन सक्दैन। हामी अझै उभिएका छौँ र पर्यटकलाई स्वागत गर्न तयार छौं’, उनले भने ।
पर्यटन क्षेत्रमा कार्यरत श्रमिकसँग सम्बन्धित कल्याणकारी कोष परिचालन गर्ने निर्णय गरिएको जानकारी दिँदै मन्त्री पौडेलले बाढीमा परी बेपत्ता भएका व्यक्तिको यकिन नहुँदा बीमा दाबीमा आउन सक्ने जटिलताबारे अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताए । राष्ट्रिय विपत्तिका बेला राजनीतिकभन्दा माथि उठेर नेपाली समाज एकताबद्ध हुने गरेको उल्लेख गर्दै उनले यसपटक पनि उद्धार तथा राहतका काममा सामाजिक एकता देखिएको बताए ।

























