
इलाम । इलामको जोगमाई खोलामा निर्माण हुने बेलीब्रिजको सामान बोकेर भारतबाट आएको ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । इलाम नगरपालिका–१०, गोदकस्थित बाह्रगोलाईमा आज (बिहीबार) भएको दुर्घटनामा दुई जना घाइते भएका छन् ।
सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलामा लगाइने बेलीब्रिजको सामान बोकेको ट्रक गन्तव्य पुग्न केही किलोमिटर मात्रै बाँकी रहँदा दुर्घटनामा परेको हो ।
अपराह्न पौने ५ बजेतिर भएको दुर्घटनामा ट्रकका सहचालकको मृत्यु भएको इलाम–१० का वडाध्यक्ष ओमनारायण प्रधानले जानकारी दिए । उनका अनुसार घाइते दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

























