
काठमाडौं । भगवान् श्रीकृष्णको पूजाआराधना गर्दै आज (शुक्रबार) देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश वर्तमान समाजका लागि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् । उनले स्वार्थरहित कर्म, सत्य, न्याय र धर्मको पक्षमा अडिग रहन तथा कर्तव्यप्रति प्रतिबद्ध हुन श्रीकृष्णका शिक्षाले प्रेरणा दिने उल्लेख गरेका छन् ।
राष्ट्रपतिले श्रीकृष्णले मानव जीवनका लागि धर्म, कर्म, प्रेम, नीति र ज्ञानका महत्वपूर्ण सन्देश प्रवाह गरेको बताएका छन् । यिनै शिक्षालाई आत्मसात् गर्दै पर्व मनाउने परम्परा रहेको उनको भनाइ छ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपाली समाजमा आपसी सद्भाव र भावनात्मक एकता कायम गर्न पनि श्रीकृष्ण जन्माष्टमीले योगदान पुर्याउने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरेका छन् । उनले पर्वले समाजमा करुणा, कर्म, योग र मैत्रीभाव बढाउँदै सभ्य तथा सुसंस्कृत समाज निर्माणका लागि प्रेरणा दिने कामना गरेका छन् ।
भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी मनाउने गरिन्छ । यस दिन देशभरका कृष्ण मन्दिरमा विशेष पूजाआराधना, भजनकीर्तन तथा प्रवचन हुने गर्छ ।
विशेषगरी ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । काठमाडौं उपत्यकासहित देशभरका विभिन्न कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भिड लागेको छ । भक्तजनले व्रत बसेर रातभर जाग्राम बस्ने तथा श्रीकृष्णको जन्मोत्सव मनाउने परम्परा छ ।
श्रीकृष्णलाई भगवान् विष्णुको आठौँ अवतारका रूपमा मानिन्छ । महाभारतमा अर्जुनलाई दिएको उपदेशका रूपमा रहेको ‘श्रीमद्भागवत् गीता’ श्रीकृष्णका शिक्षाको महत्वपूर्ण स्रोत मानिन्छ ।
गीतामा कर्म, धर्म, कर्तव्य, सत्य र न्यायका विषयमा विस्तृत रूपमा चर्चा गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदासमेत दिएको छ ।

























