
कास्की । पोखरामा आज (शुक्रबार) बिहान भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको कार चालकले नियन्त्रण गुमाउँदा पोखरा–१८ गैरीचौतारा घुम्तीबाट बिहान ४:५० बजे कार फेवातालमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपकप्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको बिहार प्रदेश, पूर्वी चम्पारण जिल्ला रक्सोलका २६ वर्षीय नवदीपकुमार यादव र पहिचान नखुलेका अर्का भारतीय पुरुष छन् ।
उद्धार टोलीले दुवै जनालाई फेवातालको पानीबाट अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो । चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भारतको बिहार प्रदेश, मोतिहारी जिल्ला रक्सोलका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको नेतृत्वमा १५ जनाको टोली घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वाटर कालिका गणबाट प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा १३ जनाको टोली पनि उद्धारमा खटिएको थियो ।
दुर्घटनामा परेको भारतीय नम्बर बीआर ०५ बीबी ६७५९ को कार क्रेनको सहायताले फेवातालबाट निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























