एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एरिकाको ह्याट्रिक 

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १०:०७

काठमाडौं । नेपाली खेलकुदकै प्रभावशाली खेलाडी एरिका गुरुङले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आयोजित ‘पल्सर स्पोर्ट्स अवार्ड २०८२’ मा ऐतिहासिक ह्याट्रिक पूरा गरेकी छन् । बिहीबार भएको २३ औँ संस्करणको अवार्डमा एरिका वर्षकी उत्कृष्ट महिला खेलाडी घोषित भइन् । योसँगै उनले लगातार तीन संस्करणमा अवार्ड जित्ने दुर्लभ कीर्तिमान समेत बनाएकी छन् ।

त्यस्तै, पुरुषतर्फको प्रतिष्ठित ‘वर्ष उत्कृष्ट पुरुष खेलाडी’ को अवार्ड बक्सर चन्द्रबहादुर थापाले हात पारेका छन् । चन्द्र र एरिका दुवैले पुरस्कार स्वरूप बजाज पल्सर मोटरसाइकल प्राप्त गरे ।

Advertisement

यस वर्षको अवार्डमा कराँते खेलको स्पष्ट वर्चस्व देखियो । कुल ९ विधामध्ये कराँतेले चार प्रमुख विधामा बाजी मार्याे । एरिकासँगै कुशल श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक र मनीषाकुमारी बोहरा वर्षकी उत्कृष्ट युवा खेलाडी घोषित भइन् । प्रशिक्षक कुशल श्रेष्ठको यो दोस्रो अवार्ड हो । यसअघि उनले २१ औँ संस्करणमा पनि उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका थिए ।

पुरुषतर्फका विजेता चन्द्रबहादुर थापा विश्व बक्सिङमा पदक जित्ने पहिलो र एक मात्र नेपाली मुक्केबाज हुन् । उनले दुबईमा सम्पन्न आइबा पुरुष विश्व च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए । जस बापत उनले ७५ हजार अमेरिकी डलर (नेपाली खेलाडीले पाएको हालसम्मकै ठुलो व्यक्तिगत पुरस्कार) प्राप्त गरेका थिए । हाल भारतमा २० औँ एसियन गेम्सको प्रशिक्षणमा व्यस्त रहेका चन्द्रको तर्फबाट उनका दाजु भूपेन्द्र थापाले अवार्ड ग्रहण गरेका थिए ।

पिपल्स च्वाइस विधामा विगतका वर्षहरूमा जस्तै यस पटक पनि भलिबलकै वर्चस्व कायम रह्यो । भलिबलकी मिना सुनारले २९.०४ प्रतिशत मतका साथ यो अवार्ड जितिन् । उनले एसएमएस भोटिङ, सामाजिक सञ्जाल, प्रशिक्षक र पत्रकारहरूको मतका आधारमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पल्सर बाइक प्राप्त गरिन् ।

नेपाली ब्याडमिन्टनका दिग्गज ८३ वर्षीय कुमार मोहनबहादुर शाहीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरियो । उनले आफूले प्राप्त गरेको १ लाख रुपैयाँ पुरस्कार राशि बाढीपीडितलाई दिने घोषणा गरेर उदाहरण पेश गरे । त्यस्तै, कराँते प्रशिक्षक ध्रुवविक्रम मल्लालाई ‘स्पेसल अवार्ड’ प्रदान गरियो, जसले विमला तामाङ र मीरा राईजस्ता विश्व चर्चित खेलाडी उत्पादनमा योगदान दिएका छन् ।

दृष्टिविहीन क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेकी सुष्मा तामाङ ‘पारा एथ्लिट सम्मान २०८२’ बाट सम्मानित भइन् । अन्तर्राष्ट्रिय विधामा भारतका वरिष्ठ खेल पत्रकार सबा नायकनलाई ‘एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड’ प्रदान गरियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×