
काठमाडौं । बंगलादेश सरकारले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि राहत, पुनःस्थापना र मानवीय कार्यका लागि नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गरेको छ ।
बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरलेआज (शुक्रबार) ढाकामा नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराएका हुन्। उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावितको राहत तथा पुनःस्थापनामा प्रयोग हुनेछ ।
यसअघि सेप्टेम्बर १ मा विदेश राज्यमन्त्री कबिरले ढाकास्थित नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए ।
बाढीपछि प्रधानमन्त्री तारिक रहमानले प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश पठाउँदै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका थिए। उनले विपद्मा ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति समवेदना र सहानुभूति व्यक्त गरेका थिए ।
त्यस्तै, बंगलादेशका राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले पनि नेपालमा बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलमार्फत समवेदना प्रकट गरेका थिए ।
बंगलादेशको संसद्ले पनि गत अगस्ट २७ मा बसेको बैठकमा नेपालमा आएको बाढीप्रति शोक प्रस्ताव पारित गरेको थियो । बैठकमा बाढीका कारण ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरिएको थियो । संसद्ले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारलाई तत्काल कदम चाल्न आग्रहसमेत गरेको थियो ।

























