१९ जना कैदीबन्दीलाई बाहिर निकालेपछि शान्त भयो मोरङ कारागार,

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ १९, शुक्रबार १५:०१

विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङबाट १९ जना कैदीबन्दीलाई बाहिर निकालिएको छ । कैदीबन्दीलाई बाहिर निकालिएपछि कारागार शान्त भएको छ ।

कैदीबन्दीबीच शुक्रबार अपरान्ह कुटाकुट हुँदा कारागारको अवस्था तनावपूर्ण बनेको थियो । कारागारको ‘बी ब्लक’का कैदीबन्दीबीच कुटाकुट हुन थालेपछि प्रशासनले हस्तक्षेप गरेर कैदीबन्दीलाई बाहिर निकालेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार चौकीदार विशाल निरौलासहित १९ जना कैदीबन्दीलाई कारागारबाट निकालिएको छ ।

कारागारबाट निकालिएकालाई जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विराटनगरमा लगिएको छ । विशेष गरेर कारागारको ‘बी ब्लक’ कब्जा गरेर बसेका चौकीदारसहितका कैदीबन्दीलाई भित्रकै अन्य कैदीबन्दीले कुटपिट गर्दा कारागारभित्र तनाव उत्पन्न भएको थियो ।

प्रशासनले कारागारभित्र आतंक मच्चाउने कैदीबन्दीलाई यसअघि नै स्थानान्तरणको तयारी गरेको थियो । तर, स्थानान्तरणको सूचना पाएपछि कैदीबन्दीले नै कारागारको ‘बी ब्लक’ कब्जा गरेर प्रशासनलाई भित्र प्रवेश गर्न रोकेका थिए । कैदीबन्दीले भित्रबाटै ताला लगाएर कारागार कब्जा गरेका कारण प्रशासनले हस्तक्षेप गर्न सकेको थिएन ।

तर, कारागार कब्जा गर्ने पक्ष र गर्न नहुने पक्षबीच विवाद भएर कुटाकुट भएको स्रोतले बतायो । ‘विशेष गरेर कारागार कब्जा गर्नेहरुलाई अर्को पक्षले कुटपिट गर्दै बाहिर निकालेर सुरक्षाकर्मीको जिम्मा लगाएका हुन् । कुटाकुट हुन थालेपछि सुरक्षाकर्मीको टोली पुगेर बाहिर निकालिएकाहरुलाई नियन्त्रणमा लिएको थियो । कारागार कब्जा गर्ने कैदीबन्दी अभिषेक गिरीका समर्थक हुन्,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार आपराधिक पृष्ठभूमिका अभिषेक गिरीको इसारामा चौकीदारसहित केही कैदीबन्दीले कारागारको ‘बी ब्लक’ कब्जा गरेका थिए । कैदीबन्दीको सरकारी भत्ता र आम्दानीबापतको रकम कब्जा गर्ने गरेको आरोपमा गिरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यही आरोपमा पक्राउ परेका गिरी भने अदालतको आदेशपछि छुटिसकेका छन् । तर, उनीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

‘कारागार कब्जा गरेर आतंक मच्चाउँदै आफूहरुमाथि यातना दिने र रकम असुल्ने गरिएको भन्दै गिरी पक्षका कैदीबन्दीलाई अरु कैदीबन्दीले एक–एक गरेर कुटपिट गर्दै बाहिर निकालेर सुरक्षाकर्मीको जिम्मा लगाएका हुन् । तर, चोटपटक कसैलाई लागेको छैन,’ कारागार स्रोतले भन्यो । बाहिर निकालिएकाहरुलाई सुरक्षाका दृष्टिकोणले पनि पुनः भित्र लगेर राख्न सक्ने अवस्था नभएका कारण अन्यत्रका कारागारमा स्थानान्तरण गरिने कारागार प्रशासनले जनाएको छ । तर, कुन–कुन कारागारमा स्थानान्तरण गर्ने भन्ने यकिन हुन बाँकी छ ।

मोरङ कारागारमा कुटाकुट, केही कैदीबन्दीलाई बाहिर निकालियो

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.