
काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले करिब २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पलका १ हजार २०० थान एयरपड्स बरामद गरेको छ ।
भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउटपोस्ट खैरवनीको संयुक्त टोलीले शनिबार बिहान एयरपड्स बरामद गरेको हो ।
सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि एयरपड्स ल्याउने व्यक्ति सामान छाडेर फरार भएका थिए । बरामद एयरपड्स आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

























