
इलाम । भोटेकोशी बाढीमा परी गत भदौ १० गतेदेखि सम्पर्कविहीन रहेका इलामको माई नगरपालिका–७ का नरेन्द्रप्रसाद दाहालको धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने भएको छ ।
रसुवाको गोसाइँकुण्ड तीर्थयात्राका लागि जाँदै गर्दा बाढीमा परेर सम्पर्कविहीन भएका दाहालको खोजी तथा अवस्था यकिन हुन नसकेपछि परिवारले स्थानीय परम्पराअनुसार अन्त्येष्टि गर्ने तयारी गरेको हो ।
माई–७ का वडाध्यक्ष बुद्धिप्रसाद खनालका अनुसार दाहालको आइतबार बिहान ११ बजे स्थानीय माइखोलामा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिनेछ ।
भोटेकोशी बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन् । कतिपयको शव फेला परे पनि पहिचान हुन नसकेको अवस्था छ भने कतिपयको अवस्था अझै अज्ञात छ । लामो समयसम्म खोजी गर्दा पनि आफन्तको अवस्था पत्ता नलागेपछि केही परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कारको प्रक्रिया अघि बढाउन थालेका छन् ।
दाहाल पनि भदौ १० गते गोसाइँकुण्ड जाने क्रममा बाढीको चपेटामा परेपछि परिवारको सम्पर्कमा आएका छैनन् । विपत्तिको लामो समय बितिसक्दा पनि कुनै खबर नआएपछि परिवारले उनलाई मृतकसरह मानेर धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

























