
विराटनगर । विराटनगरमा ५९औँ संस्करणको ऐतिहासिक राधाकृष्ण रथयात्रा सुरु भएको छ । शनिबार दिउँसो ३ः३० बजेतिर रथयात्रा सुरु भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिवत् पूजाआजा गरी रथयात्राको उद्घाटन गरेपछि रथ तान्न सुरु गरिएको छ । राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रामा ठूलो संख्यामा भक्तजन सहभागी भएका छन् । विराटनगरका विभिन्न स्थानमा भक्तजनको बाक्लो भिड लागेको छ । रथयात्रामा नेपालका विभिन्न स्थानसँगै भारतका सीमावर्ती क्षेत्रबाट समेत गरी करिब पाँच लाख भक्तजन रथयात्रामा सहभागी हुने आयोजकको अपेक्षा छ ।

रथयात्राको सुरुवातमा विभिन्न क्षेत्रका व्यक्तित्व, जनप्रतिनिधि तथा सुरक्षा अधिकारीसमेत सहभागी छन् । भक्तजनको ठूलो सहभागितालाई ध्यानमा राख्दै व्यापक सुरक्षाकर्मीको परिचालन गरिएको छ । भिड व्यवस्थापन तथा सम्भावित आपराधिक गतिविधिको निगरानीका लागि प्रहरीले ड्रोनसमेत प्रयोग गरिरहेको छ ।
यसपटकको रथयात्रामा डीजे साउन्डको प्रयोग गरिएको छैन । धार्मिक कार्यक्रमको मौलिकता र आध्यात्मिक वातावरणलाई प्राथमिकता दिँदै आयोजकले डीजेको सट्टा भजन–कीर्तन, धार्मिक झाँकी र परम्परागत प्रस्तुतिलाई प्राथमिकता दिएको छ ।
रथमा जडान गरिएका हर्न माइकमार्फत भगवानका भजन बजाइएको छ । रथयात्राको मार्गमा विभिन्न भजन मण्डलीले प्रत्यक्ष भजन–कीर्तन प्रस्तुत गर्नेछन् । पछिल्लो समय धार्मिक तथा सांस्कृतिक कार्यक्रममा चर्को डीजे साउन्डको प्रयोग बढ्दै गएपछि यसपटक परम्परागत शैलीलाई निरन्तरता दिएर राधाकृष्य रथयात्रा प्रारम्भ गरिएको छ ।
रथयात्रा राधाकृष्ण मन्दिरबाट तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ अघि बढ्नेछ । बरगाछी र दुर्गा चोक हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर रथयात्रा समापन हुनेछ । करिब आठ किलोमिटर दूरी छिचोलेर समापन हुने रथयात्राका लागि
४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ ।

विराटनगरको राधाकृष्ण रथयात्राको इतिहास झण्डै एक शताब्दी पुरानो छ । विसं १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि खट यात्राबाट सुरु भएको परम्परा विसं २०२५ देखि भव्य रथयात्राका रूपमा विस्तार भएको हो । खट यात्रासमेत गणना गर्दा यस वर्ष ९५औँ यात्रा हुँदैछ भने रथयात्राको भने ५९औँ संस्करण हो ।
प्रहरीले रथयात्राका क्रममा उच्छृंखल गतिविधि गर्ने तथा आपराधिक क्रियाकलापमा संलग्न हुनेलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने जनाएको छ ।






























