मैवाखोलामा ट्याक्टर खस्दा चालकसहित दुई बेपत्ता

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार ०८:०५

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सोमबार बिहान ट्याक्टर दुर्घटना भई मैवाखोलामा खस्दा दुई जना बेपत्ता भएका छन् । हाङपाङबाट गोलिया (काठ) लिएर दोभानतर्फ आउँदै गरेको ट्याक्टर सडकबाट खोलामा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता हुनेहरूमा ट्याक्टर चालक समिर बराइली र ट्याक्टरमा सवार अनिल नाल्वो रहेका छन् । सोमबार (आज) बिहान करिब २ः४० बजे आठराई त्रिवेणी र मेरिङदेन गाउँपालिका जोड्ने सडक खण्डको पुल नजिकैबाट ट्याक्टर करिब १५ मिटर तल मैवाखोलामा खसेको थियो ।

Advertisement

दुर्घटनामा परेका १४ वर्षीय समिर नाल्वोले बाँचेर इलाका प्रहरी कार्यालय दोभानमा खबर गरेपछि घटनाबारे जानकारी प्राप्त भएको हो । खोलाले ट्याक्टरलाई दुर्घटना स्थलबाट करिब २० मिटर तल बगाएर बगरमा पुर्‍याएको छ । ट्याक्टर फेला परे पनि चालक र अर्का एक युवा भने अझै फेला परेका छैनन् ।

घटनाको थप अनुसन्धान र बेपत्ताहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ । वर्षाका कारण खोलामा पानीको बहाव बढी भएकाले खोजी कार्यमा चुनौती थपिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×