बाढीपीडितको सहयोगार्थ लन्डनमा दौडिए ३०० नेपाली

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार ०८:५६

काठमाडौं। विनाशकारी भोटेकोशी बाढीबाट प्रभावितको सहयोगार्थ ३०० भन्दा बढी नेपाली धावकले लन्डनमा आयोजित प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागिता जनाएका छन् । नेपाल रन यूकेमा आबद्ध नेपाली धावकहरूले यस वर्षको दौड बाढीपीडित र उनीहरूका परिवारप्रति समर्पित गरेका हुन् ।

उनीहरूले हाफ म्याराथनलाई मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको माध्यमका रूपमा प्रयोग गरेका थिए ।१३.१ माइलको दौडमा सहभागी धेरै धावकले आफ्नो दौडने भेस्टको पछाडि सहयोग संकलनसम्बन्धी ‘क्यूआर कोड’ राखेका थिए । त्यसबाट अन्य धावक, दर्शक, साथीभाइ तथा सर्वसाधारणले सहज रूपमा राहत अभियानमा योगदान गर्न सक्ने व्यवस्था गरिएको थियो ।

Advertisement

‘इलिङ हाफ म्याराथन’को समन्वय र सहयोगमा फन्डरेजिङ पेज तयार पार्न सहयोग गर्ने ‘रेस नेशन’ टोलीप्रति धावकहरूले आभार व्यक्त गरेका छन् । त्यस्तै, अभियानलाई दौडका क्रममा चिनाउन सहयोग गर्ने तथा दौडका लागि आवश्यक ‘बिब्स’ उपलब्ध गराउने ‘रेस टाइमिङ सोलुसन्स’लाई पनि धन्यवाद दिएका छन् ।

दौडमा सहभागी प्रत्येक धावकका आ–आफ्नै व्यक्तिगत लक्ष्य थिए । कसैले व्यक्तिगत उत्कृष्ट समय निकाल्ने लक्ष्य राखेका थिए भने कसैले दौड पूरा गरेर अन्तिम रेखा पार गर्ने लक्ष्य राखेका थिए । तर ती सबै व्यक्तिगत लक्ष्यभन्दा माथि बाढीपीडितलाई सहयोग गर्ने साझा उद्देश्य थियो । नेपाल रन यूकेका संस्थापक सन्तोष राईले हाफ म्याराथन सकिए पनि कोष संकलन अभियान भने जारी रहने बताए । आर्थिक संकलनको लक्ष्य पूरा नभएसम्म नेपाली धावकहरूले आगामी दौड कार्यक्रम तथा साप्ताहिक ‘पार्क रन’हरूमा समेत ‘फन्डरेजिङ बिब्स’ प्रयोग गर्ने उनले बताए ।

सहयोग गर्न चाहने तर अहिलेसम्म अवसर नपाएकाहरूलाई धावकहरूको ‘बिब’ वा कोष संकलनसम्बन्धी सामग्रीमा रहेको ‘क्यूआर कोड’ स्क्यान गरी सहयोग गर्न राईले आग्रह गरेका छन् । ‘रकम जतिसुकै भए पनि हरेक योगदानले बाढीबाट प्रभावितहरूलाई सहयोग पुर्‍याउन सक्छ,’ राईले भने, ‘हाफ म्याराथन पूरा गर्नु आफैंमा एउटा ठूलो उपलब्धि हो, तर कुनै पवित्र उद्देश्यका लागि दौडिनु अझ अर्थपूर्ण हुने रहेछ । हामी एकताबद्ध छौं। हामी एक–अर्कालाई साथ दिन्छौं । हामी फेरि उठ्नेछौं ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×