आगामी तीन दिन कोशीलगायत नदीमा जलसतह बढ्ने, आकस्मिक बाढीको जोखिम

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार ०९:४०

काठमाडौं। बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख तथा साना नदीमा जलसतह बढ्ने पूर्वानुमान गर्दै नदी तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार सोमबार बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ। तर आगामी तीन दिन अधिकांश नदीमा जलसतह बढ्ने अनुमान गरिएको छ।

Advertisement

कोशी जलाधारका सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशीमा आगामी तीन दिन जलसतह उल्लेखनीय रूपमा बढ्नेछ। नारायणी जलाधारका नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा पनि बहाव उल्लेखनीय बढ्ने पूर्वानुमान छ।

यस्तै, कर्णाली जलाधारका कर्णाली, भेरी र पश्चिम सेती तथा महाकाली जलाधारको महाकाली नदीमा पनि तीनै दिन जलसतह उल्लेखनीय बढ्नेछ। कन्काई नदीमा पनि बहाव बढ्ने महाशाखाले जनाएको छ।

कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा भने आगामी तीन दिन बहाव सामान्य रूपमा बढ्ने अनुमान गरिएको छ।

यसैबीच, सोमबार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लामा बहने साना नदीमा बहाव उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका पहाडी तथा आसपासका जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ। मंगलबार र बुधबार पनि सातै प्रदेश भएर बहने केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×