
काठमाडौं । मुटुमा प्वाल परी विगत सात महिनादेखि उपचाररत सफा टेम्पो चालक रमेश तामाङलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आर्थिक सहयोग प्रदान गरेको छ । काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत तामाङलाई संगठनले सोमबार ८९ हजार ३०० रुपैयाँ हस्तान्तरण गरेको हो ।
आगामी आइतबार तामाङको मुटुको शल्यक्रिया (अप्रेसन) हुने तय भएको छ । सोही सन्दर्भमा संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेसहितको टोलीले अस्पतालमै पुगेर नगद ५० हजार १०० रुपैयाँ हस्तान्तरण गरेको हो । यसअघि नै संगठनले ३९ हजार २०० रुपैयाँ सहयोग उपलब्ध गराइसकेको थियो ।
२०६० सालदेखि अनामनगर रुटमा सफा टेम्पो चलाउँदै आएका हेटौँडाका तामाङ परिवारका मुख्य आयस्रोत हुन् । काठमाडौंमा भाडामा बस्दै आएका उनले टेम्पो चलाएरै श्रीमती र दुई सन्तानको पालनपोषण गर्दै आएका थिए । गत फागुनमा मुटुमा प्वाल परेको पत्ता लागेपछि उनको परिवार आर्थिक संकटमा परेको छ।
संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले श्रमिकलाई बचाउन संगठनले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौं सफा टेम्पो कमिटीमार्फत संकलित यो रकम हस्तान्तरण गर्दै संगठनले अन्य श्रमिकहरूलाई पनि तामाङको उपचारमा सहयोग गर्न अपिल गरेको छ।

























