
झापा । जङ्गली हात्तीको त्रास झेल्दै आएका झापाका स्थानीयले सरकारले अघि सारेको ‘हात्ती करिडोर’ नीति तथा कार्यक्रम तत्काल फिर्ता लिन माग गरेका छन् । मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका बासिन्दाले हात्ती करिडोर कार्यान्वयनमा आए परापूर्वकालदेखि बसोबास गर्दै आएका बस्ती र खेतीयोग्य जमिन नै विस्थापित हुने चिन्ता व्यक्त गरेका छन् ।
सरकारको उक्त अवधारणाबाट झापादेखि उदयपुरसम्मका लाखौँ नागरिक प्रभावित हुने भन्दै स्थानीयले ‘कृषि, भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाउ अभियान’ घोषणा गरेका छन् ।
हात्तीबाट बढी प्रभावित मेचीनगर–१, २, ३ र ४ का बासिन्दाको भेलाले साविक बाहुनडाँगी गाविसका पूर्वअध्यक्ष नीलकण्ठ तिवारीको संयोजकत्वमा १०५ सदस्यीय ‘कृषि, भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाउ अभियान मूल समिति’ गठन गरेको छ ।
अभियानका संयोजक तिवारीले पर्यटन प्रवर्द्धन र हात्ती संरक्षणका नाममा वर्षौंदेखिको मानव बसोबास, सभ्यता र कृषि भूमि मास्न नहुने बताए । उनका अनुसार भारतबाट हरेक वर्ष ठूलो संख्यामा जङ्गली हात्ती नेपाल प्रवेश गर्दा झापादेखि कोशी टप्पुसम्म जनधनको क्षति हुँदै आएको छ ।
स्थानीयले हात्तीको समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्नुपर्ने भन्दै मानव बस्ती नै जोखिममा पर्ने गरी करिडोर निर्माण गर्ने योजना तत्काल स्थगित गर्न माग गरेका छन् ।

























