झापामा एक महिनादेखि बसेको २२ वटा हात्तीको बथान भारत फर्कियो

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १४:५६
'हात्ती करिडोर नीति' फिर्ता लिन झापालीको माग

झापा । जिल्लाका विभिन्न सामुदायिक वनमा करिब एक महिनादेखि घुम्दै बसिरहेका २२ वटा हात्तीको बथान आज (सोमबार) बिहान भारततर्फ फर्किएको छ । बच्चासहितको उक्त हुलले बाहुनडाँगी, शान्तिनगरलगायत आसपासका क्षेत्रमा दैनिकजसो उपद्रव गर्दै आएपछि स्थानीयवासी लामो समयदेखि त्रासमा थिए ।

हात्तीले घर भत्काउने, खेतमा पाक्दै गरेको धान खाने तथा कुल्चिएर नष्ट गर्ने र सुपारीका बोट भाँच्ने गरेका थिए । ठूलो हुल भारततर्फ फर्किएपछि उत्तरी–पूर्वी झापाका स्थानीयले केही राहत महसुस गरेका छन् ।

Advertisement

अभियन्ता शंकर लुईटेलका अनुसार बिहान उक्त हात्तीको समूह भारततर्फ फर्किएको हो । बिर्तामोड नगरपालिका–७ मा बिहान एउटा एक्लो हात्ती बस्तीमा पसेपछि केहीबेर स्थानीयमा पुनः त्रास फैलिएको थियो । घरआँगनमै हात्ती देखिएपछि स्थानीय भागाभाग गर्न बाध्य भएका थिए । बस्तीमा करिब चार घण्टा घुमेको उक्त हात्ती पछि बुटाबारीस्थित चिया बगानतर्फ गएको बताइएको छ ।

झापामा भारतको आसाम र पश्चिम बंगालका जंगलबाट मेची नदी तरेर हात्तीहरू आहार र बासको खोजीमा नेपाल प्रवेश गर्ने गरेका छन् । स्थानीयका अनुसार नेपाल–भारत सीमामा लगाइएको सोलार फेन्सिङ पुरानो र जीर्ण बन्दै गएकाले हात्तीहरू सहजै नेपालतर्फ प्रवेश गर्ने गरेका छन् । जिल्लामा हात्तीको आक्रमणबाट वर्षेनि मानवीय क्षतिसँगै अन्नबाली र धनमालमा लाखौँ रुपैयाँ बराबरको क्षति हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×