
विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले विकास निर्माणका योजनाहरूमा हुने ढिलासुस्ती र लापरबाही अब सह्य नहुने चेतावनी दिएका छन् । सोमबार प्रदेशसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
मन्त्री आचार्यले भोटेकोशीको महाविपत्तिबाट पाठ सिक्दै अब बन्ने नयाँ योजना र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) हरू भूगोललाई विशेष ख्याल गरेर निर्माण गरिने बताए । उनले पूर्वाधार निर्माण केवल भौतिक संरचना मात्र नभई नागरिकको जीवन सहज बनाउने र अर्थतन्त्रलाई गति दिने माध्यम भएको उल्लेख गरे ।
आयोजनाहरूमा हुने ढिलासुस्ती रोक्न निर्माण व्यवसायी र कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको र प्रतिबद्धताअनुसार काम नभए कानुनी कारबाही गरिने उनले स्पष्ट पारे । मन्त्री आचार्यले इनरुवा–रामधुनी १२.७ किलोमिटर सडकको ४८ प्रतिशत काम सम्पन्न भएको र २०८३ फागुनसम्ममा पूरा हुने जानकारी दिए । यस्तै, हरिनगरा गाउँपालिकाको ३.५ किलोमिटर सडक आगामी जेठसम्ममा सम्पन्न हुने र इलामको फिक्कल–आरुपोटे–नामसालिङ सडकलाई आगामी आर्थिक वर्षको कार्यक्रममा समावेश गरिने बताए ।
मन्त्री आचार्यले झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, खोटाङ र धनकुटाका कुल १२१ वटा अधुरा आयोजनाहरूको बजेट सुनिश्चित गरी निर्माण कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । बजेट पुनरावलोकन गर्दा कुनै पूर्वाग्रह नराखी आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखिने तथा प्रदेशका १४ वटै जिल्लालाई समान व्यवहार गरिने उनको भनाइ थियो । मन्त्रालयले जनताका प्रत्यक्ष सुझाव र गुनासो सुन्न सामाजिक सञ्जाल र इमेलको समेत व्यवस्था गरेको उनले जानकारी दिए ।

























