
काठमाडौं । झापाको भद्रपुर नगरपालिका–३ स्थित झोलुङ्गे पुल इलाकाबाट सशस्त्र प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–९, लाखिवारीका १९ वर्षीय जनक माझी छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यात्रुलाई जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल, बीओपी महेशपुरबाट खटिएको चेकप्वाइन्ट टोलीले उनलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।
जाँचका क्रममा माझीको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो रङको लिसाइलो पदार्थ १६ ग्राम, नेपाली नगद ७१० रुपैयाँ र एक थान नेपाली नागरिकताको प्रमाणपत्र बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई बरामद सामानसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाइएको छ ।
यसैबीच, झापाकै गौरीगञ्ज गाउँपालिका–५, देविगञ्ज सीमा इलाकाबाट सशस्त्र प्रहरीले भन्सार छली ल्याउँदै गरेको करिब ४० हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरीगञ्जबाट खटिएको मोबाइल गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिएको हो ।
बरामद किराना सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल, नं. २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिएका छन् ।

























