भदौ २४ को हिंसाका बारेमा ओलीको दाबी, ‘जनआक्रोश होइन, लोकतान्त्रिक व्यवस्था उल्ट्याउने योजना’

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार ०७:५९

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२ साल भदौ २३ र २४ गते भएका हिंसात्मक घटनालाई आकस्मिक जनआक्रोशका रूपमा व्याख्या गर्न नमिल्ने बताएका छन् ।

उनले ती घटनाका पछाडि लोकतान्त्रिक व्यवस्था र संविधानको वर्तमान राजनीतिक मार्ग परिवर्तन गर्ने उद्देश्यसहितको योजनाबद्ध प्रयास रहेको दाबी गरे । भदौ २४ को घटनाको एक वर्ष पूरा भएको दिन बुधबार प्रेस वक्तव्य जारी गर्दै ओलीले आन्दोलनका क्रममा ज्यान गुमाएका युवा तथा प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

Advertisement

ओलीका अनुसार सुरुमा शान्तिपूर्ण रूपमा अघि बढेको प्रदर्शनमा आपराधिक समूहको प्रवेश भएपछि परिस्थिति हिंसात्मक बनेको थियो । त्यसपछि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संघीय संसद्, सर्वोच्च अदालतलगायत राज्यका महत्वपूर्ण संरचना तथा सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी एवं आक्रमण भएको भन्दै उनले घटनाको प्रकृति गम्भीर रहेको बताएका छन् ।

उनले भदौ २३–२४ का घटनाको वास्तविकता बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन् । साथै, घटनाका क्रममा सुरक्षा निकायको भूमिका के थियो भन्ने विषयमा तयार भएको प्रतिवेदनसमेत सार्वजनिक गर्नुपर्ने उनको माग छ ।

ओलीले हिंसात्मक घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान र अभियोजन अघि नबढाइएको आरोप लगाउँदै यसले दण्डहीनतालाई प्रश्रय दिने बताए । राजनीतिक गतिविधिका नाममा हुने अपराध र हिंसालाई छुट दिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन् ।

लोकतान्त्रिक व्यवस्थामा सरकारप्रति असन्तुष्टि व्यक्त गर्ने, विरोध गर्ने र आफ्ना माग राख्ने अधिकार सबै नागरिकलाई रहेको ओलीको भनाइ छ । तर, सरकार परिवर्तनका लागि संविधानले निर्धारण गरेको प्रक्रिया र शान्तिपूर्ण राजनीतिक बाटोबाहेक अन्य माध्यम स्वीकार्य हुन नसक्ने उनले स्पष्ट पारेका छन् ।

उनले लोकतन्त्र र संविधानको रक्षा तथा राष्ट्रिय हित र शान्ति कायम गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको भन्दै त्यसका लागि आह्वानसमेत गरेका छन् ।

यस्तो छ प्रेस वक्तव्यको पूर्णपाठ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×