
काठमाडौं । पब्जी मोबाइलको ग्लोबल ओपन साउथ एसियन फल च्याम्पियनसिप नेपालमा हुने भएको छ । ई स्पोर्ट्स संघ नेपाल (ईशान) र पब्जी मोबाइलको आयोजनामा सञ्चालन हुने प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ ।
चार दिने ल्यान प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म सञ्चालन हुनेछ । ईशानका सचिव आशिष दाहाल र पब्जी मोबाइलको तर्फबाट ई स्पोर्ट्स काउन्टीका ग्लोबल स्पोर्ट्स हेड इमाम हुसेन अफरिदीले कार्यक्रम आयोजना सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतियोगितामा दक्षिण एसियाका १६ पब्जी टिमले ग्लोबल छनोट हुने लक्ष्य सहित ४० हजार अमेरिकी डलर प्राइज पुलका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालबाट ४, पाकिस्तानबाट ८ र बंगलादेशबाट ४ गरी १६ टिम सहभागी हुनेछन् ।
नेपालबाट आमन्त्रित टिमको रूपमा होरा ई स्पोर्ट्स सहित टीटूके, हिडन लिफ ई स्पोर्ट्स र द गेमिङ ब्रोस्किजले प्रतियोगितामा चुनौती पेस गर्नेछन् । प्रत्येक दिन ६ गरी चार दिनमा २४ वटा खेल हुनेछन् ।
ईशानका सचिव दाहालले पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिताको सफल आयोजना पश्चात ग्लोबल ओपनको अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा हुन लागेको बताए । पब्जी मोबाइलका तर्फबाट ग्लोबल ई स्पोर्ट्स हेड अफरिदीले ई स्पोट्सअन्तर्गत पब्जीको लोकप्रियताले ग्लोबल इभेन्टका लागि नेपाल उपयुक्त थलो बनेको उल्लेख गरे । राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा सञ्चालन हुने पब्जी मोबाइलको अन्तर्राष्ट्रिय प्रतियोगितालाई ईशानले नेपालमा प्रवर्द्धन गरेको हो ।

























